अपराध

काठमाडाैँमा सहकारी सञ्चालन गरी ६ कराेड बढी ठगी

सञ्चालक समितिका अध्यक्ष र उपाध्यक्ष नै पक्राउ

इकागज |
फागुन ११, २०७८ बुधबार १६:० बजे

काठमाडाैँ – काठमाडौँमा सहकारी सञ्चालन गरी ६ कराेड बढी रकम ठगी गरेकाे आराेपमा अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सहकारीका सञ्चालक समितिका अध्यक्ष काठमाडौँ महानगरपालिका–३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष काठमाडौँ–१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे रहेका छन्। 

पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन गरी रकम हिनामिना गरेकाे आराेपमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा खटिएकाे प्रहरी टाेलीले उनीहरुलाई काठमाडाैँकाे विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान थालेकाे छ। 


सहकारी संस्थामार्फत बचतकर्ताबाट उठाएको रकम उनीहरुले आफ्ना परिवारका सदस्यका नाममा जम्मा गरी रकम दुरुपयोग गरेकाे अनुसन्धानबाट खुलेकाे सीआईबीका प्रवक्ता तथा एसपी श्यामकुमार महतोले जानकारी दिए।

उनले भने, 'निक्षेपकर्ता सदस्यले बचत गरेको रकम सञ्चालकको मिलेमतोमा सहकारी खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तका नाममा राखी रकम दुरुपयोग गरेको पाइएको छ, दुवैलाई पक्राउ गरी अनुसन्धान थालेका छौँ ।'  उनीहरुले १५ जना निक्षेपकर्ताको छ करोड २५ लाख दुरुपयोग गरेको अनुसन्धानमा पाइएको छ। बचतकर्ताले भुक्तानी फिर्ता माग्दा सञ्चालकले नै सहकारी संस्थामा ताला लगाई फरार भएका थिए। 

सहकारी ठगी कार्यमा संलग्न रहेको भनी बचतकर्ताले दिएको जाहेरीका आधारमा सिआइवीको टोलीले उनीहरुलाई पक्राउ गरेकाे हो । प्रहरीले अन्य बचतकर्ताले उक्त सहकारीबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनी कारबाहीका लागि जानकारी गराउन अनुराेध गरेकाे छ ।


Author

थप समाचार
x