अपराध

नक्कली कलेज चलाएर लाखाैँ ठग्‍ने पक्राउ

इकागज |
माघ ९, २०७७ शुक्रबार १८:५६ बजे

धनगढी : धनगढीमा वर्षाैदेखि ठगी गर्दै आएको धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । फर्जी प्रक्रियाबाट सञ्चालित उक्त इन्स्टिच्युटका सञ्चालक राजाराम चौधरी र उनलाई सघाउने शिवकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

कैलालीको गौरीगंगा–८ का स्थानीय रहेका इन्स्टिच्युटका सञ्चालक राजारामले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाममा विद्यार्थीलाई ठगेको खुलासा भएको हो ।  
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले चौधरी लामो समयदेखि ठगी कार्यमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । 


‘अनुमति बिना नै गैरकानुनी रूपमा संचालन गरी इन्स्टिच्युटमा अध्ययनरत ११८ जनाबाट चौधरीले ४९ लाख ८ हजार चार सय रुपैयाँ असुली गरेको देखिएको छ,’ उनले भने, ‘ठगी गरेको जाहेरी दरखास्तको आधारमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको थियो । कैलाली जिल्ला अदालतले २ महिना कैद र तीन लाख ८ हजार जरिवनाको फैसला सुनाएको थियो । लामोसमयदेखि फरार रहेका चौधरीलाई आज पक्राउ गरिएको हो ।’ चौधरीले थप १९ लाख ६५ हजार रुपैयाँ ठगी गरेर फरार भएको जाहेरीसमेत प्रहरीमा परेको थियो । 

प्राविधिक विषय पढाउने कलेज रहेको र कृषि जेटिए, भेटनरी अध्यापन हुने भन्दै विद्यार्थीहरुबाट रकम असुली गरिएको थियो । तर, परिक्षा नै सञ्चालन नभएपछि विद्यार्थीहरुले ठगी भएको भन्दै आन्दोलनसमेत गरेका थिए । यसअघि पनि चौधरीले पटक–पटक विद्यार्थीलाई ठगेपछि विद्यार्थीकै उजुरीमा पक्राउ परेका थिए । तर, ९९ लाख धरौटीमा छुटेका चौधरीले फेरी ठगी धन्दा सुरु गरेका हुन् ।  

चौधरीले त्रिभुवन विश्वविद्यालयबाट मान्यता दिलाउने भन्दै कैलालीका विभिन्न व्यक्तिबाटसमेत रकम असुली गरेको देखिएको प्रहरीले जनाएको छ । चौधरीले धनगढीकी अनिता चौधरीबाटसमेत त्रिभुवन विश्वविद्यालयबाट नर्सिङ उत्तिर्ण गरेको प्रमाणपत्र दिलाउने भन्दै ५ लाख ठगी गरेको जाहेरी परेको छ । 
 


Author

थप समाचार
x