अपराध

पर्सा घटना

प्रहरीले एक सातापछि लियो जाहेरी

इकागज |
कात्तिक १३, २०७७ बिहीबार १५:४४ बजे

वीरगञ्‍ज : सत्तारुढ नेकपा पर्साको विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण (गत विहिबार) कार्यक्रममा दुई पक्षबीच भएको झडपमा घाइते मुकेश चौरसियाको मृत्यु भएको घटनाको प्रहरीले एक सातापछि जाहेरी लिएको छ । मृतकका परिवारले दिएको किटानी जाहेरी प्रहरीले बिहीबार दर्ता गरेको हो । जाहेरीमा पूर्वसांसद राजकुमार गुप्तासहित १३ जनामाथि ज्यान मार्ने कार्यमा सम्लग्न भएको आरोप लगाइएको छ । 

प्रहरीले सिधा जाहेरी लिन अस्वीकार गरेपछि एक सातादेखि पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा विरोध र धर्ना कार्यक्रम भइरहेको थियो । आज प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जाहेरी लिएको नेकपा वीरगञ्‍ज महानगरका अध्यक्ष रहवर अन्सरीले जानकारी दिए ।  


प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझ्‍न मानेका थिएनन् । अब शव बुझ्‍ने र शुक्रबार बिहान पोष्टमाटम गरिने तयारी भएको अन्सारीले जानकारी दिए । गाउँ गाउँबाट मानिसहरूको उपस्थिति गराएर शुक्रबारै अन्त्यष्टि गरिने पनि अन्सारीले जानकारी दिए । 

पार्टीको गाउँपालिका कमिटी सचिवसमेत रहेका चौरसियाको शव नारायणी अस्पतालमा राखिएको छ । झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्तासहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएपनि माथिको टेलिफोन आएको भन्दै छोडेको आरोप धर्नामा बस्‍नेहरूले लगाइरहेका थिए । 

चौरसियाको मृत्यु भएपछि उनका परिवारले १२ जनाविरुध्द किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेपनि जाहेरी लिन प्रहरीले अस्वीकार गरेपछि धर्ना र आन्दोलन जारी राखिएको थियो । जाहेरीमा संविधानसभाका पूर्व सदस्य राजकुमार गुप्ताको नाम उल्लेख भएकाले प्रहरीले लिन अस्वीकार गरेको थियो । 


Author

थप समाचार
x