अपराध

ओलीका तीन वर्ष

बढेको बढ्यै बलात्कार, जिम्मेवार व्यक्तिबाटै गैरजिम्मेवार अभिव्यक्ति

सृजना खड्का |
फागुन ३, २०७७ सोमबार २०:३० बजे

काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी कञ्‍चनपुरकी १३ वर्षीया निर्मला पन्तबारे सोधिएको प्रश्‍नमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘बलात्कार र हत्या सरकारले गरेको होइन । यस्ता घटनामा अपराधी पत्ता लाग्‍न १२ वर्ष पनि लाग्‍न सक्छ ।’ 

दुई वर्षअघि संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका उनले यस्तो जवाफ दिएका थिए । त्यसपछि बिस्तारै बलात्कारबारे कुर्सीमा बसेर जिम्मेवार हुनुपर्ने व्यक्तिहरूको गैरजिम्मेवार बोली बाहिरिन थाले । कसैले भन्‍न थाले, ‘पुँजीवादले बलात्कार बढाउँछ ।’ कसैको तर्क थियो, ‘बलात्कार अमेरिकामा पनि हुन्छ ।’ बलात्कारलाई कसैले छोटो लुगासँग दाँजे । ‘बलात्कारमा ९० प्रतिशत महिलाले इन्जोय गर्छन्’ भन्‍ने खालका अभिव्यक्ति पनि आए ।


दिनमा सात जनाको बलात्कार हुने तथ्यांकमाथि विश्लेषण गर्दै कुर्सीमा बस्‍नेले भने, ‘चिन्ता लिनुपर्ने अवस्था अझै आइसकेको छैन ।’  महिला अधिकारकर्मी तथा अभियन्ता डा.अर्चना थापा नेपालमा बलात्कार बढ्नुमा यी र यस्तै बोली जिम्मेवार भएको बताउँछिन् ।

‘पदमा आसीन व्यक्तिहरूले यस्तो भाषा बोल्दा पीडकलाई थप ऊर्जा मिलेको छ,’ उनी भन्छिन्, ‘नेताले बोल्ने भाषामै महिलालाई विभेद गरिएको छ । उनीहरू ‘लोकतन्त्रमाथि बलात्कार भयो,’ ‘संविधानको चीरहरण भयो’ भन्छन् । लोकतन्त्र र संविधान महिला हो र ? त्यसको ठाउँमा भन्नैपर्ने भए भनौँ, ‘संविधानको दौरा सुरुवालको इजार खुस्कियो ।’

महिलामाथि बोलिने विभेदपूर्ण भाषाले बलात्कार संस्कृतिलाई बढावा दिने उनको तर्क छ । गृहमन्त्री स्वयंले बलात्कारीको संख्या चिन्ताजनक छैन भन्‍नु बलात्कार संस्कृतिलाई प्रवर्धन गर्नु हो भन्‍ने लाग्छ उनलाई । निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्‍न सकेको छैन । भर्खरै बैतडीको दोगडाकेदारकी १७ वर्षीया भागरथी भट्टको पनि बलात्कारपछि हत्या भयो । उनको केस पनि अगाडि बढ्न सकेको छैन । 

रुपन्देहीकी अंगीरा पासी, महोत्तरी गुलबसा खातुन, बझाङकी सम्झना कामीको पनि बलात्कारपछि हत्या भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा अहिलेसम्मकै सबैभन्दा बढी बलात्कारपछि हत्याका घटना भएका छन् । जसमा ११ जनाको बलात्कारपछि हत्या भएको छ । यो आर्थिक वर्ष अर्थात् ६ महिनाको अवधिमा मात्रै तीन जनाको बलात्कारपछि हत्या भएको छ । प्रधानमन्त्री ओलीको तीन वर्षे कार्यकालमा बलात्कारको ग्राफ एकपछि अर्को गर्दै बढ्ने क्रममा छ ।  

बढ्दो बलात्कार
यस आर्थिक वर्षभित्र मात्रै छ महिनाको अवधिमा १२ सय ६० बलात्कारका घटना दर्ता भएका छन् । जसमध्ये तीन जनालाई बलात्कारपछि हत्या गरिएको पाइएको छ । आर्थिक वर्ष २०७६/७७ मा २१ सय ४४ बलात्कारका घटना घटेका छन् । । जसमध्ये दुई जनालाई बलात्कारपछि हत्या गरिएको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा २२ सय ३० बलात्कारका घटना घटेका छन् । जसमध्ये ११ जनाको बलात्कारपछि हत्या गरिएको छ । पछिल्लो साढे दुई वर्षमा मात्रै ५ हजार ६ सय ३४ बलात्कारका घटना भएका छन् । जसमध्ये १६ जनाको बलात्कारपछि हत्या भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा १४ सय ८० बलात्कारका घटना घटेका छन् ।

आर्थिक वर्ष २०७०/७१ मा ९ सय १२ बलात्कारका घटना भएका थिए भने आर्थिक वर्ष २०७१/७२ मा ९ सय ८१ बलात्कारका घटना भएका थिए । त्यस्तै, २०७२÷७३ मा १ हजार ८९ बलात्कारका घटना घटेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७३/७४ मा ११ सय ३१ बलात्कारका घटना घटेका थिए ।

सरकार बलात्कारको घटना घटाउने काम आफ्नाको होइन भनेर पन्छिने गरेको छ । घटना घटाउने काम सरकारको नभए पनि घटना घट्ने र दोषीलाई कारबाही गर्ने जिम्मेवारी सरकारको भएको अधिकारकर्मीहरू बताउँछन् । तर, सरकारले अपराध ढाक्ने र अपराधी जोगाउने काम गरिरहेको गुनासो उनीहरूको छ ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x