अपराध

महिलालाई बेचेर दिल्ली हुँदै श्रीलंका पुर्‍याउने प्याकुरेल पक्राउ

इकागज |
फागुन ४, २०७७ मंगलबार १९:५७ बजे

काठमाडौँ  : श्रीलंका पुर्‍याइ मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-३ महाराजगञ्‍ज बस्‍ने नुवाकोट तादी गाउँपालिका-१ घर भएकी कमला भेटवाल भन्‍ने पाकिजा प्याकुरेललाई पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । 

प्याकुरेल र दुबईमा रहेका उनका सहयोगीको मिलेमतोमा एक महिलालाई भारतको दिल्ली हुँदै श्रीलंका पुर्‍याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । त्यहाँको मिनुवाङ्गोडा भन्‍ने ठाउँमा बन्धक बनाई राखेको अवस्थामा श्रीलंकाको प्रहरीले फेला पारी नौ महिना जेल राखेर नेपालस्थित माइतीनेपाल र श्रीलंकास्थित नेपाली दूतावासको सहयोगमा गत माघ ११ गते महिला नेपाल फर्किन सफल भएकी थिइन । 


घटनामा संलग्‍न रही फरार अभियुक्त प्याकुरेललाई प्रहरीले काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-४ पासिकोटमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको ब्यूरोले जनाएको छ । अभियुक्तविरुद्ध आज जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले जनाएको छ । (रासस)


Author

थप समाचार
x