अपराध

ठगी मुद्दामा तीन वर्ष कैद

इकागज |
फागुन १०, २०७७ सोमबार १९:१५ बजे

फाइल तस्बिर

काठमाडौँ : तनहुँको व्यास नगरपालिका-२ स्थित दमौली बचत तथा ऋण सहकारीको रकम हिनामिना सम्बन्धमा जिल्ला अदालत तनहुँमा दर्ता भएको ठगी मुद्दामा पाँचजनालाई कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलाशले पाँच प्रतिवादीलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

जिल्ला अदालत तनहुँका श्रेस्तेदार मीनबहादुर कुँवरका अनुसार व्यास नगरपालिका-२ का दिव्या थापा, राजु थापा, व्यास नगरपालिका-१ का दीपिका थापा, व्यास नगरपालिका-५ का याममाया दरै र व्यास नगरपालिका-१० का चेलीमाया थापालाई तीन वर्ष कैद सजायको फैसला भएको छ । 


साथै बिगोको हकमा सोही प्रतिवादीबाट दामासाहीरुपमा भराउने फैसलासमेत अदालतले गरेको उनले बताए । जिल्ला अदालतले अन्य प्रतिवादीलाई भने सफाइ दिएको छ । हरिबहादुर गुरुङले १६ जनालाई प्रतिवादी बनाएर विसं २०७५ असार ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दाको दशपटक पेशी चढेको थियो ।

दमौली बचत तथा ऋण सहकारीमाथि रु साढे चार करोड हिनामिना गरेको अभियोग लागेको थियो । यसअगाडि तत्कालीन तनहुँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको आदेशबाट सहकारीकी सचिव दिव्या थापा, लेखापालद्वय लक्ष्मी थापा र शुभेच्छा दरै पुर्पक्षका लागि थुनामा गएका थिए । सोही मुद्दाका आरोपी सहकारी संस्थाका कोषाध्यक्ष राजु थापा भने रु एक लाख धरौटी बुझाएर रिहा भएका थिए ।  


Author

थप समाचार
x