अपराध

जमिनमा गाडिएको बालिकाको शव प्रहरीले निकाल्यो, आमासहित ६ जना नियन्त्रणमा

बिक्रम खड्का |
फागुन ११, २०७७ मंगलबार १६:५७ बजे

बुटवल : रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा जमिनमा गाडेको एक बालिकाको शव प्रहरीले निकालेर अनुसन्धान थालेको छ । आफ्नै आमाले एक वर्षीया छोरीको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले प्रहरीले जमिनमा गाडेको शव निकालेर अनुसन्धान थालेको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रवीण पोखरेलले घटना शंकास्पद देखिएपछि गाडिएको शव निकालेर अनुसन्धान थालिएको बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा बालिकाको हत्यामा संलग्‍न रहेको हुनसक्ने आशंकामा आमा र घटना लुकाउन सहयोगी बनेका पाँचजनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएका छौं ।’ 



२१ वर्षीया आमा प्रेमा यादवले पहिले छोरीको हत्या गरी आफूले आत्महत्या गर्ने मनसाय बनाएको प्रहरीले जनाएको छ । आफ्नो कोठामा रहेको पंखामा बाँधिएको डोरीले छारीको घाँटीमा बाँधेर हत्या गरी आफूले समेत सोही डोरीमार्फत आत्महत्या गर्ने प्रयास गरिरहेको प्रेमालाई नन्दले देखेपछि उद्धार गरिएको थियो । 

डोरी काटी प्रेमालाई परिवारका सदस्यहरूले नै बचाएको देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । बालिकाको शकांस्पद मृत्यु भएकोमा नजिकैको खोलामा लगेर गाडी सकेपछि प्रहरीले घटना थाहा पाएको थियो । त्यसपछि तत्काल प्रहरी परिचालित भएको थापाले बताए । 

प्रहरीले खोज्‍ने क्रममा सोही ठाउँको दानव खोला नजिक शंकास्पद ठाउँमा खनी हेर्दा बालिकाको शव फेला परेको थियो । मृतक बालिकाकी आमा प्रेमा यादव, ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान राज कुमार यादव र प्रेमाको साथी लुम्बिनी सांस्कृतिक नगरपालिका-९ का प्रदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना रहस्यमय देखिएपछि गम्भीर ढंगले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रेमाले किन आफ्नै छोरीको हत्या गरी आफूले आत्महत्या गर्ने प्रयास गरिन् अझै प्रष्ट भइनसकेकोे प्रहरी प्रवक्ता थापाले बताए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x