अपराध

गर्भपतन गराएको आरोपमा तीन पक्राउ

इकागज |
फागुन १५, २०७७ शनिबार २०:१४ बजे

सप्तरी  : सप्तरीको महादेवा गाउँपालिका-४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका तीन जनालाई शनिबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महादेवा गाउँपालिका-४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत पक्राउ परेका हुन् । 

आरोपितमध्ये तीन पक्राउ परेको जानकारी दिँदै इलाका प्रहरी कार्यालय कञ्‍चनरुप, सप्तरीका प्रहरी निरीक्षक नरेशकुमार सिंहले सोही ठाउँका आरोपित ४० वर्षीय सुरेन्द्र साह फरार रहेकाले खोजतलास भइरहेको बताए । 


आफ्नो खेतमा बालीनाली हेर्न फागुन ६ गते दिउँसो गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखी निजहरूलाई रोक्न खोज्दा कुटपिट गरेको पीडितले बताए । आरोपितहरूको कुटपिटबाट पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्‍चनरुप, सप्तरीमा दिएको उजुरीमाथि थप अनुसन्धान र कारबाही भइरहेको प्रहरीले जनाएको छ । (रासस)
 


Author

थप समाचार
x