अपराध

वैदेशिक रोजगार ठगी मुद्दामा फरार पौडेल पक्राउ

इकागज |
फागुन १७, २०७७ सोमबार २०:५७ बजे

काठमाडौँ  : नेपाल प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका नवलपरासी देवचुली नगरपालिका-१३ प्रगतीनगरका रिलायवल एचआर सोलुशन प्रालिका सञ्‍चालक ४८ वर्षीय गुरुदत्त पौडेललाई आइतबार काठमाडौँको बागबजारबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गंगा पन्तले वैदेशिक रोजगार न्यायाधीकरणको विस २०६८ माघको फैसलाअनुसार एक वर्ष ६ महिना कैद सजाय र  २५ हजार जरिवाना ठहर गरेपछि फरार रहेका पौडेललाई पक्राउ गरिएको जानकारी दिइन् । पौडेलले सिं‌गापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाएर झुक्याइ पीडितसँग चार लाख ५० हजार लिई दुबई पठाएर ठगी गरेको अनुसन्धानमा खुलेको प्रवक्ता पन्तले बताइन् ।  


पक्राउ परेका पौडेललाई वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४ को उपदफा ५ बमोजिम उल्लेखित सजाय गरिएको प्रहरीले जनाएको छ । ब्यूरोले फैसला कार्यान्वयनका लागि पक्राउ पौडेललाई काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ । (रासस)


Author

थप समाचार
x