लागूऔषधसहित एक जना पक्राउ
फाइल तस्बिर
काडमाडौँ : प्रहरीले काठमाडौँको चन्द्रागिरिबाट लागूऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ७०० एम्पुल नोर्फिन, ९०० एम्पुल डाईजेपाम र ७०० एम्पुल फेनारगनसहित पर्सा छिपरमाइ गाउँपालिका-५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई प्रहरीले पक्राउ गरेको छ । पर्साबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६३७७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बिहान जाँच गर्ने क्रममा उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
उनको विषयमा अहिले महानगरीय प्रहरी वृत थानकोटले लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । यसैबीच बुधबार पनि काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ९०० एम्पुल नोर्फिन, ९०० एम्पुल फेनारगन र ९०० एम्पुल डाइजेपामसहित बाराका १९ वर्षीय सोनुकुमार यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।
वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ७४५० नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार यादवलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस्तै परिसरले आज एक सूचना जारी गरी २२ तोला बराबरको अवैध सुनको सिक्रीसहित भारतीय नागरिक तपस सस्मललाई पक्राउ गरेको जनाएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया