यातायात व्यवस्था कार्यालयको ढड्डा र छापसहित बिचौलिया पक्राउ
काठमाडाैँ - यातायात व्यवस्था कार्यालय बागमतीको एकान्तकुनाकाे सवारीको दर्ता किताब र कार्यालयकाे छापसहित एक बिचौलिया पक्राउ परेकाे छ। आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले यातायात कार्यालयको दर्ता किताब र कार्यालयका छापसहित चितवनको भरतपुर महानगरपालिका–२३ घर भएका ३२ वर्षीय मनोज बाँस्तोलालाई शंखमुलबाट पक्राउ गरेकाे हाे ।
२०७८ कार्तिक २८ मा बास्तोलाले बा.१२ च ४४९९ नम्बरको हुण्डाई कम्पनीको ग्राण्ड आईटेन कार कुसुन्तीस्थित यातायात कार्यालय अगाडीको होटलमा बसेर शेर सिंह थापालाई पास गरिदिएका थिए । तर, गाडीको ब्लु बुक दिए पनि उनले ब्लु बुकमा उल्लेखित गाडी नदिएपछि उनले ललितपुर प्रहरीमा उजुरी गरेका थिए ।
यही विषयमा अनुसन्धान गर्दै जाँदा बाँस्तोलासँग सरकारी कागजातहरु नै भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले बताए । उनका अनुसार उनीसँग बरामद दुई रजिष्टरमा ११०९ र १६९० नम्बर लेखिएको छ । दोस्रो रजिष्टरमा ४५४० देखि ४६७९ सम्म २६ च लेखिएको छ ।
प्रहरीका अनुसार बाँस्तोलाविरुद्ध ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी छ । अब सरकारी लिखत कीर्तेमा पनि अनुसन्धान हुनेछ । बिचौलियालाई दर्ता किताब दिने यातायातका कर्मचारीबारे पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । आरोपीविरुद्ध ठगी मुद्दामा जिल्ला अदालत ललितपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया