अपराध

सहायक सिडियो र प्रशासकीय अधिकृत भन्दै ठगी गर्ने पक्राउ

लक्ष्मी भण्डारी |
चैत ६, २०७७ शुक्रबार १२:५७ बजे

सुर्खेत : सरकारी परिचयपत्र बनाएर ठगी गर्ने जाजरकोटका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृतको परिचयपत्र बनाएर ठगी गरेको आरोपमा जाजरकोट छेडागाढ नगरपालिकाका  २७ वर्षीय दिपक बुढालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।  

नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंले बुढालाई पक्राउका लागि पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा उनले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिडेका थिए । यो नाम गरेको गाउँपालिका नेपालमै छैन ।  प्रहरीले उनको साथबाट परिचयपत्रका साथै सरकारी पोशाक समेत बरामद गरेको छ । 


जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक कनक शाहीका दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । ‘कहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत त कहिले सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए । जाहेरी महानगरीय अपराध महाशाखा काठमाडौंमा परेकाले अड्डासार गरेर काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए । प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक बरामद गरेको छ ।


Author

थप समाचार
x