अपराध

१७ दिनअघि थुनामुक्त भएका थिए, फेरि लागुऔषध खोज्दै अदालतसम्म पुगे

इकागज |
चैत १०, २०७८ बिहीबार १४:८ बजे

काठमाडौँ - बुधबार राति कास्की जिल्ला अदालतमा एक पुरुष पसेर फाइल, मिसिल यत्रतत्र पारे । वडा प्रहरी कार्यालय, बैदामकैअघि रहेको अदालतमा पसेर उनले मिसिल उत्रतत्र गरेका हुन्। जुन आफैंमा आश्चर्यपूर्ण थियो । ती पुरुषले १ र ६ नम्बर इजलास कोठाको ढोकामा लगाएको ताला फोडेर, त्यहाँका फाइल यत्रतत्र छरेर छाडिदिएका थिए । 

कास्की प्रहरीले यसबारे अनुसन्धान थाल्यो । अनुसन्धान थालेको एक दिनमै कास्की प्रहरीले अदालतमा अनाधिकृत रूपमा छिर्ने पोखरा महानगरपालिका-१५ का २७ वर्षीय अर्जुन परियारलाई पक्राउ गरेको छ । 


परियार १७ दिनअघिमात्रै थुनामुक्त भएका थिए । वडा प्रहरी कार्यालय, बैदाममा २०७६ चैत ९ गते लागु औषध कसुरमा मुद्दा परेपछि उनी दुई वर्ष जेल सजाय कटाएपछि उनी गत फागुन २३ गतेमात्र थुनामुक्त भएका थिए ।

तर थुनामुक्त भएको १७ दिनमै उनी फेरि पक्राउ परेका छन् । अहिलेसम्म उनीवरुद्ध कास्की प्रहरीमा ८ वटा मुद्दा परिसकेको छ । 

बुधबार राति उनी लागुऔषधकै खोजीमा अदालतसम्म पुगेका थिए ।

कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार अर्जुनले लागुऔषध खोज्दै त्यहाँ पुगेको स्वीकार गरेका छन् । ‘अगाडि वडा प्रहरी कार्यालय छ, अदालतकै गेटमा पनि सुरक्षाकर्मी थिए । निजचाहिँ अदालतको पूर्वी छेउमा रहेको फिर्के खोलाको पुलबाट छिरेर लागुऔषध खोजेको रहेछ,’ उनले भने ।


Author

थप समाचार
x