अपराध

बम बिष्फोट गराएको अभियोगमा ४ पक्राउ

इकागज |
चैत १९, २०७८ शनिबार १९:७ बजे

सुनसरी – ईटहरी उपमहानगरपालिका–२ स्थित बम बिष्फोट गराएको अभियोगमा ४ जना पक्राउ परेका छन् । 
प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका–२ का २० वर्षीय रविन थापा, सोही ठाउँका ३२ वर्षीया लक्ष्मी देवी थापा, लमजुङ ढोडेनी गाउँपालिका–७ का २३ वर्षीय शेरजंग गुरुङ र  झापा कन्काइ नगरपालिका–८ लक्ष्मीपुर बस्ने ४३ वर्षीय संजय भन्ने खगेन्द्र खरेल रहेका छन् । 

ईटहरी उपमहानगरपालिका–२ डेरा गरी बस्ने लक्ष्मी थापाको कोठामा चैत १४ गते बम बिष्फोट हुँदा मानिस घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले शेरजंग गुरुङ र लक्ष्मी थापाको छोरा रविन थापालाई घाइते अवस्थामा फेला पारी उपचारको लागि अस्पताल पठाएको थियो ।


घटनाको थप अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी इकाई कार्यालय धरान सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमध्ये रविन र शेरजंगलाई उपचार पश्चात, लक्ष्मी देवीलाई ईटहरी उपमहानगरपालिका–२ बाट र घटनाका मुख्य योजनाकार खगेन्द्र खरेललाई झापा मेचिनगर नगरपालिका–६ स्थित नेपाल भारत सिमाना काकडभित्ताबाट प्रहरीले पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा शिर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
 


Author

थप समाचार
x