अपराध

महिलाको शंकास्पद मृत्यु भएपछि धामी झाँक्रीसहित सात जना पक्राउ

इकागज |
बैशाख ३, २०७९ शनिबार १६:१५ बजे

धनगढी – कञ्चनपुरमा महिलाको शंकास्पद मृत्यु भएपछि धामी झाँक्रीसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना धामी झाक्रीसहित ७ जना स्थानीय रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

कञ्चनपुरकै भीमदत्त नगरपालिका–७ बस्ने धामीझाक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बस्ने नारायणदत्त भट्टले झारफुक गर्ने क्रममा कुटपिट गरेर महिलाको हत्या गरेको आरोपमा दुवै जना पक्राउ परेका हुन् ।


वेदकोट नगरपालिका–७ को मुसेपानी बस्ने ४३ वर्षीया रञ्चुला साउदको शंकास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए । महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

डीएसपी शाहका अनुसार उनकै नातेदार पर्ने स्थानीय कमला साउदको घरको आगनमा मृत्यु भएको अवस्थामा रन्चुलाको शव बरामद गरिएको हाे । उनीहरुसँगै साउदका परिवारका सदस्यहरु समेत पक्राउ परेका हुन् । तर प्रहरीले उनीहरु सबैको नाम सार्वजनिक गरेको छैन ।

 


Author

थप समाचार
x