अपराध

मानव बेचबिखन : ५ वर्षमा झण्डै बाह्र सय मुद्दा, ८ सय ६० फरार

सुरेन्द्र बजगाईं |
बैशाख ३, २०७९ शनिबार १९:३९ बजे

काठमाडौं – करिब एक वर्ष अगाडि अमेरिका जाने सपना बोकेर गैरकानुनी बाटो हुँदै अमेरिका पुगेका ८ नेपाली युवालाई त्यहाँको अध्यागमनले समात्यो । गैरकानुनी बाटो हुँदै अमेरिका पुगेका उनीहरुलाई त्यहाँको अध्यागमनले डिपोर्ट गरेको छ । 

दुई हप्ताअगाडि अमेरिकाले डिपोर्ट भएकाहरुलाई प्लेन चार्टर गरेर नेपाल फर्काएको छ । उनीहरुले अमेरिका प्रवेश गर्न १० देखि ४५ लाखसम्म दलाललाई बुझाएर अमेरिका पुगेको पाईएको मानव वेचबिखन अनुसन्धान व्युरोले जनाएको छ । 


‘ती ८ जनालाई मानव तस्करले अमेरिका पु¥याएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीहरुलाई अवैध बाटो हुँदै अमेरिका पुर्याउने मानव तस्करबारेमा अनुसन्धान गर्दै छौं । हामी ती तस्करनजिक पुगिसकेका छौ’ व्युरोका प्रवक्ता एवम प्रहरी उपरीक्षक दानबहादुर मल्ल भन्छन्, ‘केही तस्करहरु विदेशमा भएका र केही नेपालमा नै भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ 

यसरी अमेरिका पुग्नेमा दाङ, पर्वत, बाग्लुङ, रुकुम लगायतका जिल्लाका युवाहरु छन् । उनीहरु नेपाल फर्किए पनि आफू बेचबिखनमा परेको भनेर प्रहरीमा उजुरी भने दिएका छैनन् । तर प्रहरीका अनुसार उनीहरुलाई अमेरिका पुर्याउने गिरोहकाबारेमा खोजी गरिँदैछ । 

मानव बेचबिखन तथा ओसारपसार नेपालको मात्रै हैन विश्वभरि नै समस्याको रुपमा देखापरेको छ । केही वर्ष पहिलेसम्म नेपालमा मानव बेचबिखन यौनजन्य क्रियाकलापमा मात्रै हुने बुझिन्थ्यो । तर त्यो बुझाई फराकिलो भएको छ । 
युएनका अनुसार मानव बेचबिखन भनेको जबरजस्ती श्रम, यौन दासत्व, वा तस्कर वा व्यावसायिक यौन शोषणको उद्देश्यका लागि एक ठाउँबाट अन्य स्थानमा लैजानु  मानव बेचबिखन तथा ओसारपसार भएको मल्ल बताउँछन् । 

‘सबै उमेरका र सबै पृष्ठभूमिका पुरुष, महिला र बालबालिका यस्तो अपराधको शिकार भएको पाइन्छ’ मल्ल भन्छन्, ‘नेपालमा पनि तस्करहरूले प्रायः हिंसा वा जालसाजी गरेर यस्तो अपराध गरेको पाइन्छ । शिक्षा र रोजगारीका दिने भने समेत मानव तस्करी एवम ओसार–पसार भएका छन् । यसलाई विश्वको प्रमुख एक समस्याको रुपमा हेरिन्छ ।’
ब्युरोमा दर्ता भएका मुद्दाहरूको अनुसन्धानबाट मानव बेचबिखनमा संलग्न तस्करीहरूले काठमाडौं–काँकडभिट्टा–सिलगुढी–नयाँदिल्ली हुँदै श्रीलंकाको कोलम्बो तथा कुवेत, पोर्चुगल, ईराक, अजरबैइजान, लिबिया, अमेरिका, रसिया, क्यानाडा, पोल्यान्ड, इटली, जापान, नर्वे र अष्ट्रेलिया सम्म नेपाली नागरिकहरुलाई पुर्याई मानव बेचबिखन गर्ने गरेको पाइएको छ । भने विदेश जाने क्रममा पीडितहरुले ५० लाखभन्दा बढी रकम खर्च गरेको समेत पाईएको मल्ल बताउँछन् ।

कोरोना महामारीको समयमा पनि रोकिएन तस्करी

कोभिड–१९ का कारण विश्व विगत ३ वर्ष ठप्पप्रायः भयो । तर यो समयमा मानव बेचबिखन भने झनै समस्याको रुपमा देखा पर्यो । मानव बेचबिखन अनुसन्धान व्युरोमा २०७८ सालको असारदेखि चैतको अन्त्यसम्म एक सय आठ वटा मानव वेचविखनको मुद्दा पर्यो । 

गत ५ वर्षमा १ हजार १६८ वटा मानव बेचविखनको मुद्दा परेका परेका छन् । प्रहरीका अनुसार, ५ वर्षमा प्रहरीले १ हजार ८६ पुरुष र ४३६ महिला पक्राउ परेका छन् । यस्तै अझै ६ सय ६३ पुरुष र १९७ महिला फरार छन् । 

पहिले मानव बेचविखनलाई प्रहरीले २०७५ जेठ २७ देखि छुट्टै व्युरो बनाएर अनुसन्धान गर्दै आएको छ । व्युरो स्थापना भएको वर्ष नै सबैभन्दा धेरै मुद्दा परेको थियो । उक्त वर्ष ३०५ वटा व्युरोमा परेका छन् । त्यो वर्ष ३३१ महिला र ११७ जना पुरुष मानव ४४८ जना पक्राउ परेका छन् । 
आर्थिक वर्ष ०७५–७६ मा पुरुष ७१ र महिला ३१६ गरी ३८७ ले आफू पीडित भएको जिकिरहित प्रहरी कहाँ पुगेका थिए । जसमा २ सय ५८ वटा मुद्दा परेका छन्। 
सबैभन्दा धेरै मानव वेचबिखन कपिलबस्तु र बाँके

प्रहरीका अनुसार, नेपालमा सबै भन्दा धेरै मानव बेचविखन हुने कपिलवस्तु पर्छ  । त्यहाँ चालु आर्थिक वर्षको ९ महिनामा २५ वटा मानव बेचविखनका मुद्दा परेको छ । यो आर्थिक वर्षमा प्रदेश–१ मा ६, मधेश प्रदेशमा ८, बाग्मतीमा ५, गण्डकीमा ९, कणालीमा २, सुदुरपश्चिममा ७ वटा मुद्दा परेका छन् । यस्तै उपत्यकामा १२ र व्युरोमा १९ मुद्दा परेका छन् ।

यस्तै जिल्लाको तथ्याङ्क हेर्ने हो भने बाँकेमा सबैभन्दा धेरै मुद्दा दर्ता भएको देखिन्छ । यो ९ महिनामा बाँके जिल्लामा मात्रै १२ वटा मानव बेचविखन तथा ओसार–पसार सम्वन्धी मुद्दा परेका छन् । यस्तै कास्कीमा ६ वटा र कैलालीमा ५ वटा उजुरी परेका छन् ।  यस्तै कठमाडौंमा यो ९ महिनामा ९ वटा उजुरी परेको छ भने व्युरोमा १९ वटा उजुरी परेको छ । काठमाडौंमा मानव बेचविखन अनुसन्धान व्युरो र देशको राजधानी भएकाले समेत धेरै उजुरी परेको व्युरोले जनाएको छ । 

भारतबाट धेरै उद्धार 

विगतमा नेपालबाट हुने मानव बेचबिखन तथा ओसारपसारको गन्तव्य राष्ट्र भारत हुने गरेको भए तापनि हाल आएर विशेषगरी खाडी मुलुकहरू चीन र विश्वका अन्य देशमा पनि नेपालीलाई बेच्ने गरेको पाइन्छ ।

तर त्यो क्रम कम भए पनि उल्लेख्य मात्रामा भारतमा मानव बेचबिखन हुने व्युरोको तथ्याङ्कले देखाउँछ । यो आर्थिक वर्षको ९ महिनामा व्युरोले ६१ जना उद्दार गरेको छ । जसमा भारत लगेको अवस्थामा ३० जना र भारत लगिदै गरेको अवस्थामा ३१ लाई व्युरोले उद्धार गरेको छ । 

यस्तै अन्य राष्ट्र भनि भारत  लगिदै गरेको अवस्थामा ६ जना र अन्य राष्ट्र भनी भारत लगिएको अवस्थामा २ जनालाई व्युरोले उद्धार गरेको छ । यस्तै, ओमन २ बाट २ जना, दुबईबाट ५ जना, इराकबाट १ जना उद्धार भएको व्युरोले जनाएको छ । 

गत आर्थिक वर्ष ०७७–८७ मा चिनबाट १ जना, भारत लगेको अवस्थामा ३५ जना, भारत लगिदै गरेको अवस्थामा ३७ जनाको उद्धार भएको थियो । गत वर्ष श्रलङ्काबाट ११ जना प्रहरीले उद्धार गरेको थियो । उक्त वर्ष १८७ जना मानिसलाई व्युरोले उद्धार गरेको छ । 

आन्तरिक बेचबिखनको तथ्याङ्क पनि भयावह नै देखिन्छ । यो आर्थिक वर्षको ९ महिनामा ७१ जना मानिसहरु वेचविखन भएको स्थानबाट प्रहरले उद्धार गरेको छ। जसमा महिला ४३ जना, पुरुष ३ जना, बालक एक र बालिका २१ जना बेचविखन भएको स्थानबाट उद्धार भएको छ ।

भारतमा यौन व्यवसायमा, अन्य देशमा श्रम शोषण

नेपालबाट बेचबिखनमा हुनेहरु भारतका कोठीहरुमा धेरै पुर्याइने गरेको पाइएको छ । अन्य देशमा रोजगारी, शिक्षा आदि दिने सपना देखाएर लैजाने गरेको पाइएको छ। यसरी रोजगारीमा लगिएकाहरुलाई १८ देखि २० घण्टासम्म काममा लगाउने गरिएको पाइएको व्युरोले जनाएको छ । 

यसै वर्ष युरोप, अमेरिका भनेर लैजाने भनी अरु नै देशमा पुर्याएर अलपत्र समेत पारेका थिए । व्युरो अनुसार अमेरिकाबाट समेत मानिसहरुलाई उद्धार भएको छ । यसरी बेचविखन गर्नेहरुले भारतको बाटो हुँदै लैजाने गरेको पाइएको छ । 

५ वर्षमा ८५९ फरार 

व्युरोमा परेका मुद्दामा विगत ५ वर्षमा मात्रै ८ सय ५९ जना अभियुक्त फरार अवस्थामा रहेका छन् । जसमा ६६३ पुरुष र १९७ महिला छन् ।
यसो हुनुमा विदेशमा बसेर मानव वेचविखन गर्नेहरु धेरै भएकोले यस्तो भएको प्रहरीले जनाएको छ । यसका साथै तस्करहरुले सामाजिक संजालबाट मात्रै कुरा गर्ने र आफ्नो सही परिचय पीडितले नपाउने भएकाले फरार धेरै भएको श्रेष्ठ बताउँछन् । 

यसले गर्दा मानव वेचविखन तथा ओसार पसारको मुद्दामा अनुसन्धान नै गर्न समस्या पर्ने गरेको छ । 

‘वैदेशिक रोजगारीका क्रममा हुने मानव बेचविखनमा परी उजुरी गर्न आउने पीडितहरु सँग आफूले  बिदेश जाने क्रममा पिडकलाई दिएको रकमको बिल भरपाई समेत राख्दैनन्’ प्रवक्ता मल्ल भन्छन्, ‘श्रमिकहरू विदेश जानुअघि पिडकको पूर्ण विश्वासका परिश्रम सम्झौता गर्दैनन् ।  पिडकको तीन पुस्ते विवरण, सम्पर्क नम्बर, निज बसोबास गर्ने स्थान तथा तिनका आफन्तको विवरणको जानकारी र यात्राको टिकटसमेत पीडितको साथमा नहुँदा अनुसन्धानमा निकै चुनौती थपिएको छ ।’

त्यस्तै अनुसन्धानकै क्रममा मुख्य अभियुक्त बिदेशमा बसेर आफ्ना सहयोगीमार्फत गस्करी गर्ने गरेका छन् । नेपालबाट वैदेशिक रोजगारमा पठाउने बाहनामा नेपाली नागरिकहरुलाई तस्करी गरी विभिन्न देशहरुमा पठाई अलपत्र पार्ने गरेको खुल्न आएको व्युरोको बुझाइ छ । 

त्यस्ता घटनामा संलग्न, अभियुक्तलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउन कानुनी समस्या समेत हुने गरेको छ । साथै पक्राउ परेका प्रतिवादीबाट पीडितको वास्तविक क्षति अनुसारको क्षतिपूर्तिको भराउने व्यवस्था मानव बेचबिखन तथा ओसारपससार ऐन २०६४ मा नभएको कारण ब्युरोमा दर्ता भएका मुद्दाको अनुसन्धानका क्रममा पीडितले असहयो गर्ने समेत व्युरोले जनाएको छ । 

कसरी गर्ने न्युनीकरण

ब्यूरोले बेचविखन तथा ओसारपसार मुक्त नेपालको स्थापना गर्ने कार्यमा अगाडि बढेको छ । मानिसहरुलाई सुचना प्रवाह गर्न व्युरोले मिडियाहरूबाट सूचना प्रवाह गर्ने, डिजिटल डिस्प्लेमार्फत् अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालबाट बाहिरीने प्रमुखस्थल नाकाहरूमा चेतनामूलक संदेश प्रवाह गर्ने कार्यलाई निरन्तरता दिइएको व्युरोका प्रवक्ता बताउछन् । 

‘हामीले देशभर चल्ने सवारी साधन, गाउँपालिका, नगरपालिका, देशका प्रमुख शहरमा रहेका बसपार्क लगायतका स्थानहरुमा पोष्टरहरु टाँस्ने कार्य गर्दै आएका छौ’ प्रवक्ता मल्ल भन्छन्, हाल लागि देशका पाँचवटा सीमा नाकामा मानव वेचविखन अभियानलाई सचेतनामूलक कार्यक्रमहरु भइरहेको छ । कांकडभिट्टा, सुनौली, बाँकेको जमुना, कैलालीको त्रीनगर र कञ्चनपुरको गड्डाचौकीमा डिजिटल डिस्प्ले राख्ने तयारीमा छौ ।’
 


Author

सुरेन्द्र बजगाईं

अर्थतन्त्र र सामाजिक विषयमा कलम चलाउने बजगाईं संवाददाता हुन् ।


थप समाचार
x