अपराध

बेदकोट घटना :  सात जनाविरुद्ध जाहेरी दर्ता

इकागज |
बैशाख ५, २०७९ सोमबार १२:१४ बजे

कैलाली - बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहले भीमदत्त नगरपालिका–७ हल्दुखालका धर्मानन्द भट्ट, वडा नं १ बाराकुण्डाका नारायणदत्त भट्ट, मुसेपानीकी कमला साउद, कुवेरसिंह साउद, गौरी साउद, कमला साउद, जानकी घडाल र चक्र साउदविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको बताए । जाहेरी परेका मध्ये भट्टद्धय र साउद झारफुकको काम गर्छन् ।


जाहेरी दर्ता भएसँगै प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ भने जाहेरीवाला सबै प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

उता मृतकको शव महाकाली अस्पतालमा राखिएको छ । मृतकका आफन्तले शव बुझेका छैनन् । घटनाको सत्यतथ्य जाँच गरी दोषीलाई कारबाही नहुन्जेल शव नबुझ्ने आफन्तले अडान लिएका छन् ।

चैत्र २८ गते टाउको दुख्ने समस्या देखिएपछि रञ्चुला छिमेकी कमलाको घरमा पुगेकी थिइन् । त्यहाँ झारफुक गर्ने धर्मानन्द र नारायणदत्तले रञ्चुलालाई थारुको भूत लागेको बताएका थिए । दिनभर मन्त्र जप्नुपर्ने भन्दै त्यही राखेका र वैशाख १ गते भूत धपाउने भन्दै कुटपिट गर्दा रञ्जुलाको मृत्यु भएको बताइएको छ ।

मृत्यु भइ सकेकी रञ्चुलालाई पुन: आफैले जीवित बनाउदै भन्दै धामीद्वय भट्ट र साउदले झारफुक गरिरहेका थिए । उता रञ्चुलाको शव भने गन्हाउने अवस्थामा पुगि सकेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगि शव नियन्त्रणमा लिएर महाकाली अस्पताल पुर्‍याएका थिए ।


Author

थप समाचार
x