मैले राजालाई भनेँ- कम्युनिस्टहरूको विध्वंशकारी गतिविधिबाट चनाखो हुनुपर्ने बेला छ
मैले आफ्नो ओहदाका प्रमाणपत्रहरू प्रस्तुत गरेको केही दिनपछि भारत-नेपाल सम्बन्धबारे विभिन्न समस्याहरूमाथि कुराकानी गर्न राजा महेन्द्रसँग भेट्न समय मागेँ। छिट्टै नै मलाई यो सुअवसर प्राप्त भयो । यसरी मैले कुराकानी थालेँ- 'सरकार म वृत्तिबाट उठेको कूटनीतिज्ञ होइन, गान्धीजीको मातहतमा रहेर धेरै वर्षसम्म मैले काम गर्ने मौका पाएको थिएँ र पछि गएर आफ्नो देशको आर्थिक योजना तर्जुमा गर्ने कार्यमा भित्री तहसम्म पुगेको थिएँ । त्यसकारण म सरकारसँग उन्मुक्त तथा स्पष्ट भएर कुराकानी गर्न चाहन्छु र मैले गर्नु पनि पर्छ ।'
सदिच्छाको भाव दर्शाउँदै सरकार मतिर फर्किबक्सी हुकुम भयो- 'महामहिम, म कूटनीतिज्ञहरूलाई घृणा गर्छु । आपसी चासोका समस्याका विषयहरूमा म निष्कपट मानवीय हेराइ चाहन्छु ।' सरकारले कुरा लम्ब्याउँदै भन्न लाग्नुभयो- 'म देश विकास गर्ने कार्यमा प्रयत्नशील छु र आफ्नो ल्याकतले भ्याएसम्म जनताको सामाजिक र आर्थिक विकास गर्न खोजिरहेको छु । हामी एउटा सानो राष्ट्र हौं र कूटनीतिको प्रपञ्चमा मुछिन चाहँदैनौं ।'
त्यस दिनदेखि मेरो कार्यकालको अन्त्यसम्म राजा महेन्द्रसँग मेरो न्यानो हार्दिक सम्बन्ध रहयो, हामीबीच कुनै प्रकारको मानसिक अप्ठ्यारोपना केही भएन।
हाम्रो कुराकानीको क्रममा नेपालप्रति भारतको कुनै टाढाको आकांक्षा नरहेको कुरामा राजालाई मैले विश्वस्त गराएँ । मैले भनेँ- 'हामी यस अधिराज्यको द्रुतगतिले आर्थिक प्रगति होस् भन्ने भित्री मनदेखि नै चाहन्छौं र जनताको जीवनस्तर तीव्र रूपले माथि उठ्न सकोस्। सरकारको सदिच्छानुसार भारत नेपालमा विभिन्न किसिमका विकास परियोजनाहरूको थालनी गर्न सदैव इच्छुक छ । जेजस्तो आर्थिक सहयोग भारतले नेपाललाई प्रदान गर्छ त्यो विनाअंकुशको हुनेछ । हाम्रो एक मात्र चाहना के हो भने यो अधिराज्य एउटा बलियो, असंलग्न र स्थिर राष्ट्रको रूपमा पूर्ण विकसित होस् ।'
राजा महेन्द्रको जवाफ त्यति नै स्पष्ट र सोझो थियो । मौसूफबाट हुकुम भयो- 'हामी भारतको विदेश नीतिले तय गरेअनुसार, हामी असंलग्नता र शान्तिपूर्ण सहअस्तित्वको नीति अपनाउन प्रयत्नशील छौं। हामी हरेक देशसँग शीतयुद्ध र राजनीतिक तनाबमा नपरिकन मित्रता गर्न खोज्छौं । हामी आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता कायम राख्न दृढप्रतिज्ञ छौं। भारतले हाम्रो आर्थिक विकासको लागि प्रदान गरेको सहायताको लागि म वास्तवमा आभारी छु ।'
राजाले संकोच मान्दै गुनासो गरिबक्सियो भारतीय सहयोगका परियोजनाहरूको प्रगति सन्तोषजनक रहेको छैन । तपाईंहरूको कार्य कहिले कुन निश्चित समयमा पूरा हुने हो, त्यसको कुनै निश्चित समयावधि नै छैन ।
मैले राजालाई आश्वस्त गराएँ कि म स्वयं श्री ५ को सरकारलाई सन्तोष लाग्ने किसिमले ती परियोजनास्थलमा जानेछु र तिनीहरूको कार्यान्वयन पक्षमा छर्लङ्ग सुधार देखिने गरी काम भएको आभास गराउनेछु। सोहीअनुसार मैले अविलम्ब भारतीय सहयोगद्वारा सञ्चालित सबै परियोजनाहरूको चरणबद्ध मासिक रूपमा अवलोकन गर्ने कार्यक्रमहरू तय गरेँ र ती परियोजनाको सम्पूर्ण कार्य सकी कुनै निश्चित मितिमा तिनीहरूको उद्घाटन होस् भन्नेतिर लागेँ । यस कुराले गर्दा राजा र श्री ५ को सरकारबाट मेरो साह्रै सराहना भयो र त्यसपछिका महिनाहरूमा यस सम्बन्धमा कुनै गुनासो वा असन्तोष भएको मैले सुनिनँ।
निर्वासित नेपाली कांग्रेसका कार्यकर्ताहरूको गतिविधि हाम्रो सीमा क्षेत्र तथा खासगरी बिहारमा भएको कुराले राजा गम्भीर रूपमा चिन्तित होइबक्सन्थ्यो । नेपालविरोधी यस्ता गतिविधिहरूलाई कडाइसाथ कम गराउन भारत सरकारले निश्चय गरिसकेको छ भनी मैले सरकारलाई चित्त बुझाउन कोसिस गरेँ ।
नेपालको सार्वभौमसत्तालाई खलल पुर्याउने भारतको अलिकति पनि मनसाय थिएन ।
लालबहादुर शास्त्री भारत सरकारको गृहमन्त्री हुनुहुँदा उहाँले मार्च १९६३ मा नेपाल भ्रमण गरको बखत भारतीय भूमिबाट नेपालीहरूलाई अब उप्रान्त सञ्चालित हुन र अवाञ्छनीय क्रियाकलापहरू गर्न दिनेछैन भनी मौसूफलाई आश्वासन दिएका थिए । तर अझै पनि अनिश्चितता र शंकाको कस बाँकी नै थियो । त्यसकारण सरकारबाट हकुम भयो- 'मलाई थाहा छ तपाईको सरकारले उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई सक्रिय हुन नदिन उपायहरू अपनाएको छ । तर ती तत्त्वहरूले ममाथि र मेरो प्रशासनमाथि असंख्य पर्चा, प्रशस्त पुस्तक र केही पत्रिकामार्फत विषवमन गर्न छाडेका छैनन् ।'
मौसूफले खासगरी कलकत्ताबाट प्रकाशित हुने दुईवटा पत्रिकाहरू अंग्रेजी भाषाको 'नेपाल टुडे' (Nepal Today) र नेपाली भाषाको 'आह्वान'को विशेष रूपमा उल्लेख गरिबक्सियो । मैले यो कुरा के रहेछ भन्ने यकिन गर्न अविलम्ब दिल्लीमा पत्राचार गर्ने वाचा दिएँ । मलाई हर्ष लाग्यो, भारत सरकारले यी प्रकाशनहरूलाई बारम्बार राजा र उहाँको प्रशासनलाई प्रहार गरिरहेकोमा सचेत गरायो । पछि तिनीहरूलाई केही महिनाको लागि प्रकाशन स्थगन गर्न भनियो । म आफैले सीमा क्षेत्रका राज्यहरूको भ्रमण गरेँ र व्यक्तिगत तौरमा उत्तर प्रदेश, बिहार र पश्चिम बंगालका राज्यपाल र मुख्यमन्त्रीसँग कुराकानी गरेँ। नेपालविरुद्ध हुने गतिविधिसँग गम्भीर र व्यापक रूपमा काम कारबाही गर्ने विषयमा उहाँहरू राजी हुनुभयो । यो कुरा स्पष्ट थियो भारतभित्रबाट यस्ता गतिविधिहरू हुनु नेपालसँगको हाम्रो मैत्रि सम्बन्धको लागि ज्यादै हानिकारक छ ।
विभिन्न स्रोतहरूबाट ज्ञात भएपछि म छक्क परेँ शाही नेपाली सैनिकका तीन चौथाइ सैनिकहरू भारतीय सिमानामा तैनाथ गरिएका छन्, बेलाबखत सहृदयी नेपाली नागरिकहरूबाटै के सुनियो भने उनीहरूको भूभागमा कुनै सम्भावित आक्रमण हुन गयो भने उनीहरू दक्षिण अर्थात भारतसँग ज्यादै भयभीत छन् तर 'उत्तर' अर्थात् चीनसँग होइन । यो ज्यादै दुःखदायी र विपतको कुरा थियो । जहाँसम्म नेपालको सार्वभौमसत्तालाई खलल पुर्याउने भारतको अलिकति पनि मनसाय थिएन, अविलम्ब नेपालसँग जोडिएका भारतीय राज्यहरूमा नेपाली नागरिकहरूद्वारा अपनाइएको विरोधी र खतरनाक कामकारवाहीलाई रोक्न जरूरी थियो । राजालाई हाम्रो नियतको इमानदारीको विश्वासले मन जित्ने मेरो प्रयत्न खेर गएन ।
मेरो प्रथम भेटमा नै चीनसम्बन्धी सोझै कुरा उठाउन मैले चाहिनँ । मैले राजालाई यति मात्र उल्लेख गरेँ कि कम्युनिस्टहरूले एसियाली र अफ्रिकी मुलुकहरूमा विध्वंशकारी गतिविधिहरूलाई कसरी संगठित गर्दछन् भन्ने कुरामा ज्यादै चनाखो हुनुपर्ने बेला भइसकेको थियो । जुन अप्रिय किसिमले धोखापूर्ण घातक तरिका अपनाइ चीनले तिब्बतलाई हडप्यो, त्यो एउटा एसियाली चीनका छिमेकी राष्ट्रहरूको लागि बेलैमा चनाखो हुनुपर्ने सचेतताको सूचक थियो । नेपाल पनि यो कटु वास्तविकतासँग परिचित हुनुपर्दछ, राजसंस्था तथा साम्यवादबीच कुनै गतिलो मित्रता हुन सक्तैन । तिब्बत जो एउटा ठूलो अन्तस्थ: राज्यको रूपमा रहेको थियो त्यो अवस्था अब छैन । र उत्तरको विशाल क्षेत्रतर्फबाट तिब्बत नेपालको पल्लोघरको जस्तो नजिकको छिमेकी रहेको छ ।
महेन्द्र सरकारबाट हकुम भयो, ‘उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले ममाथि र मेरो प्रशासनमाथि असंख्य पर्चा, प्रशस्त पुस्तक र केही पत्रिकामार्फत विषवमन गर्न छाडेका छैनन् ।’ राजा र उहाँको प्रशासनलाई प्रहार गरिरहेकामा ती प्रकाशनलाई भारत सरकारले सचेत मात्र गराएन, केही महिनाका लागि प्रकाशन स्थगन गर्न भनियो ।
राजाले 'म नेपाललाई वास्तविक अर्थमा असंलग्न राख्न चाहन्छु र हामी आशा गर्दछौ कि भारतले हाम्रा अप्ठ्याराहरू बुझेर यस क्षेत्रमा शान्ति कायम गर्न सहायता गरोस्' मेरो हकमा, वार्ताको क्रममा शीतयुद्धको अवस्था नेपालमा नआओस् भनी चीन-विरोधी टीकाटिप्पणी मैले गरिनँ । कतूहलपूर्ण तवरले आचार्य विनोबा भावेले मलाई सुरूमै सचेत गराउनुभएको थियो, नेपालको लागि भारतीय कूटनीति सकारात्मक तथा रचनात्मक सहयोगमा आधारित रहनुपर्दछ, तर चीनसँग वैमनष्य देखाएर होइन । कुनै कलह चाहे त्यो सैनिक होस् वा कूटनीतिको, नेपाल र चीनवीच त्यो हुन गयो भने अन्त्यमा गएर उत्तरपट्टि भारतको सुरक्षार्थ अहितकर हुनेछ ।
हाम्रो कुराकानीको अन्त्यपछि मैले राजालाई मेरा प्रकाशनहरू उपहारस्वरूप टक्र्याएँ जसमा भारतीय योजनामा समाजवाद (Socialism in Indian Planning) नामक किताब पनि समावेश थियो । यसमा पण्डित जवाहरलाल नेहरूले भूमिका लेख्नुभएको थियो। भूमिका सरसर्ती हेरेपछि राजा महेन्द्र यी शब्दहरूसँग आकर्षित हुनुभएको थियो- 'भारतले हाम्रो लागि आधुनिक प्रविधिबाट लाभ उठाइ कृषि र उद्योग दुवैमा उत्पादन बढाउन आवश्यक छ। तर त्यसो गर्दा हामीले तोकेका अनिवार्य उद्देश्यमध्ये व्यक्तिको स्तर र यसमा निहित धार्मिक तत्त्वहरूलाई पनि बिर्सनुहुँदैन ।'
केही समयको अन्तरालपछि, इलाहाबादमा सम्पन्न कुम्भमेलाको अवसरमा एउटा हिन्दू सम्मेलनलाई आफ्नो सन्देश पठाउँदा पंडितजीको भूमिकाको यो अंशलाई प्रयोग गरिबक्सेको थियो । राजा महेन्द्रले कृपापूर्वक आफूले लेखेका कविताको मूल नेपाली र त्यसको अंग्रेजी अनुवादको एक एक थान किताब उपहारस्वरूप मलाई दिइबक्सियो । अंग्रेजी अनुवादको किताबको शीर्षक थियो 'A Harvest of Poems ' रेडियो नेपालबाट यी कविताहरू बारम्बार गाइएको र जनताबीच ज्यादै लोकप्रिय रहेको मैले अनुभव गरेँ ।
मेरो पहिलो औपचारिक भेटघाट निश्चय नै ज्यादै ज्ञानवर्द्धक र उपयोगी रह्यो । यसले मलाई राजाको अन्तर दिमागमा के कुरा छ त्यसको सजीव र ज्वलन्त झलक बुझने अनुपम मौका मिल्यो। नि:सन्देह म उहाँको स्पष्ट र निष्कपटतादेखि प्रभावित भएँ । भारत-नेपालबीचको सम्बन्धमा प्रभाव पार्ने विभिन्न समस्याहरूको हल गर्न मैत्रीपूर्ण उपायहरू पत्ता लगाउने क्रममा, त्यसपछिका वर्षहरूमा राजा महेन्द्रलाई भेट्ने धेरै अवसरहरू मैले पाएँ। उहाँको दृष्टिकोण सदा विवेकी, रचनात्मक र मैत्रीपूर्ण थियो भन्नमा मलाई कुनै हिचकिचाहट छैन । उहाँको कार्यशैलीमा प्रवीणता र सम्पूर्णताको तत्त्व निहित रहेको अध्ययन गर्न पाउँदा म खुशी थिएँ। हाम्रो कुराकानीको क्रममा मैले भनेका धेरै बूँदाहरू उहाँ स्वयं आफ्नो दैनिकीमा टिपिबक्सन्थ्यो र त्यसबारे केही दिनभित्रै उचित कदम उठाइ कामकारबाही गरी निर्णयबारे मलाई सूचित गरिबक्सन्थ्यो उहाँले जे गर्छु भन्नुहुन्थ्यो, त्यो वास्तवमा गरिबक्सन्थ्यो र ठीक दिशामा । त्यसरी नै मैले पनि राजालाई गर्छु भनेका वचनबद्धता अविलम्ब पूरा गर्ने प्रयत्न गर्थेँ।
(नेपालका लागि पूर्व-भारतीय राजदूत नारायणको यो लेख ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया