कूटनीति

इजरायलले बीपी कोइरालालाई सम्झियो

इकागज |
जेठ १८, २०७९ बुधबार १९:२० बजे

काठमाडौँ– नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६२औं वर्षका अवसरमा नेपालस्थित इजरायली दूतावासले बीपी संग्रहालयसँगको सहकार्यमा ‘बीपी कोइराला र नेपाल–इजरायल सम्बन्ध’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । सुन्दरीजलस्थित बीपी संग्रहालयमा मन्त्रीहरू, उच्च पदस्थ सरकारी अधिकारी, कूटनीतिज्ञ लगायतको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ । 

नेपाल र इजरायलका तत्कालीन प्रधानमन्त्रीहरू बीपी कोइराला र डेभिड बेन गोरिनले १ जुन, १९६० मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए । इजरायली दूतावासले पूर्वप्रधानमन्त्री एवं महान नेता बीपी कोइरालाको उक्त योगदानको स्मरण गर्दै तत्कालीन समयमा दक्षिण एसियाबाट इजरायलसँग सम्बन्ध स्थापित गर्ने पहिलो र एक मात्र देश भएको उल्लेख गरेको छ । 


दुई देशबीच सम्बन्ध स्थापित भएयता दुवैले प्रगाढ मित्रता, उच्चस्तरीय भ्रमण, पारस्पारिक लाभ तथा कृषि, शिक्षा, स्वास्थ्य, उद्यमशीलता लगायत सहयोगका क्षेत्रहरू फराकिलो बनाउँदै आएका छन् । 

कार्यक्रममा प्रमुख अतिथि रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्धको ६२औं वर्ष पूरा भएकोमा बधाई दिदैं दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझै प्रगाढ बनाउने प्रतिवद्धता व्यक्त गरे । नेपाल इजरायलको उत्कृष्ट प्रविधि उपयोगबाट नेपालले लाभ लिन चाहेको उल्लेख गरे । 

कार्यक्रममा राजदूत हनान गोडरले नेपाल र इजरायलबीच द्विपक्षीय र बहुपक्षीय दुवैथरी सम्बन्धका आयामहरू भएको बताए । द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको भन्दै उनले नेपालले बहुपक्षीय मञ्चमा प्यालेस्टाइनको पक्षधरता देखाएकोप्रति असन्तुष्टी प्रकट गरेका थिए । 

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्रीद्वय प्रदीपकुमार ज्ञवाली र प्रकाशशरण महतले दुई देशबीचको सम्बन्धका बारेमा चर्चा गरेका थिए । 
 


Author

थप समाचार
x