नेपाल-भारत सीमा विवादः लालपुर्जा भएका नेपाली नागरिकलाई जमिन जोत्न दिने सहमति
कञ्चनपुर - भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेलौरी नगरपालिका–१० सडक घाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ । शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा भएको जमिन नेपाली नागरिकलाई जोत्न दिने सहमति भएको हो ।
दुवै देशका सर्भे टोलीले अनुगमन नगर्दासम्म नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका एसपी अमरबहादुर ऐरले बताए ।
“सर्भे टोलीले अनुगमन गरेर समस्या समाधान नगर्दासम्म लालपुर्जा भएका नागरिकलाई जोत्न दिने सहमति भएको छ,” उनले भने, “अब नेपाली नागरिकले आफ्नो भूमि जोत्न पाउँछन् ।”
छलफलमा सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐर नेतृत्वको टोली र एसएसबी ३९ नं बटालियनका प्रमुख गोविन्द भण्डारी नेतृत्वको टोली सहभागी थियो ।
बुधबार ट्रयाक्टर लगेर खेत जोत्न गएका बेलौरी नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गामा एसएसबीले खेत जोत्न नदिई फर्काएपछि विवाद उत्पन्न भएको थियो । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया