कूटनीति

नेपाल र बेलायतबीच नेपाली नर्सलाई बेलायत लाने समझदारी पत्रमा हस्ताक्षर

इकागज |
भदौ ६, २०७९ सोमबार १६:४२ बजे

काठमाडौँ - नेपाल र बेलायतका पदाधिकारीबीच आज नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । समझदारी पत्रमा हस्ताक्षर गरेसँगै नेपाली नर्सलाई रोजगारीको लागि बेलायत जाने खुला भएको छ । 


समझदारी पत्रमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतको तर्फबाट नेपालको लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका थिए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा दुवै देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । 

‘यस समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवम् नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ,’ समझदारी पत्रमा हस्ताक्षरपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । 

समझदारी पत्रमा बेलायतको स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था गरिएको छ । 

समझदारी पत्रमा स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (जिटुजी) प्रक्रिया बमोजिम गरिने उल्लेख गरिएको छ । 


Author

थप समाचार
x