कूटनीति

गृहमन्त्री खाणसँग बेलायती राजदूत पोलिटको भेट

इकागज |
भदौ ९, २०७९ बिहीबार १८:१७ बजे

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री खाणले बेलायतको सहयोगमा सन् २०१४-२०२१ सम्म ‘सुरक्षा र न्यायको सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकामा राजदूत पोलिटलाई धन्यवाद दिए ।

परियोजनालाई निरन्तरता दिँदै बेलायतको ‘फरेन कमनवेल्थ एण्ड डेभलभमेन्ट अफिल’ले सन् २०२१ को अक्टोबरमा नै उक्त कार्यक्रम पुनः स्वीकृत गरिसकेको थियो । नेपाल र बेलायतबीच यस सहयोगलाई कार्यान्वयन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने सन्दर्भमा उनले गृहमन्त्रीसँग भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री खाणले परियोजनाले पहिलो चरणमा सुरक्षा र न्यायमा जनताको पहुँच बढाउन, लैङ्गिक हिंसा रोक्न तथा प्रहरी र समुदायको सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।


यसकै निरन्तरता स्वरुप परियोजनाको दोस्रो चरण लागू गर्न आवश्यक ‘एमओयू’को मस्यौदामा नेपाल प्रहरीलाई धेरैभन्दा धेरै उपकरण र भौतिक संरचनामा सहयोग गर्ने गरी पुनरावलोकन गर्न नेपाल सरकारले गरेको आग्रहलाई बेलायतले सकारात्मक रूपमा लिएकामा मन्त्री खाणले राजदूतमार्फत बेलायत सरकारलाई धन्यवाद दिए । भेटमा बेलायती राजदूत पोलिटले नेपालमा सङ्क्रमणकालीन न्यायबारे चासो व्यक्त गरेकी थिइन् ।

मन्त्री खाणले राजनीतिक द्वन्द्व व्यवस्थापनका लागि सरकार विभिन्न राजनीतिक समूह र विद्रोहीसँग गरिएका सहमति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका थिए । उनले नेत्रविक्रम चन्द (विप्लव) जनमत पार्टी र थारू कल्याणकारी सभासँग भएका सहमति कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

सरकारले दिगो शान्ति स्थापना, लोकतन्त्रको सुदृढीकरणका लागि विभिन्न राजनीतिक दलहरूसँग सहमति गरेको र त्यो  सहमति कार्यान्वयनको चरणमा रहेको चर्चा गर्दै मन्त्री खाणले नेपालको सङ्क्रमणकालीन अवस्थालाई निराकरण गर्न अन्तर्राष्ट्रिय नियोग र विदेशी समुदायले प्रदान गरेको सहयोगका लागि बेलायती राजदूतलाई धन्यवाद व्यक्त गरे । 


Author

थप समाचार
x