कूटनीति

काठमाडौंबाटै भीसा दिन अष्ट्रेलियालाई नेपालको आग्रह

इकागज |
भदौ १४, २०७९ मंगलबार १८:४४ बजे

अष्ट्रेलियाको राजधानी क्यानबेरामा सम्पन्न ‘द्विपक्षीय परामर्श संयन्त्र’को बैठक । तस्बिर सौजन्य/नेपाली दूतावास, क्यानबेरा

काठमाडौं–नेपाल सरकारले अष्ट्रेलियासँग नेपालीहरुलाई काठमाडौंस्थित उसकै दूतावासबाट भीसा दिन आग्रह गरेको छ ।

अष्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले ‘द्विपक्षीय परामर्श संयन्त्र’ (बीसीएम) को आज क्यानबेरामा सम्पन्न बैठकमा अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागका उपसचिव जस्टिन हेहर्स्ट उक्त आग्रह गरेका हुन् ।


सचिव पौड्यालले काठमाडौंस्थित अष्ट्रेलियाली दूतावासबाट भिसा सेवाहरू जारी गर्नेबारे विचार गर्न त्यहाँको सरकारलाई अनुरोध गरेको क्यानबेरास्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

काठमाडौंमै आफ्नो दूतावास खोले पनि अष्ट्रेलियाले नेपालीहरुलाई भीसा भने नयाँ दिल्लीस्थित दूतावासबाट मात्र दिंदै आएको छ । भीसामा कडाई गरेपछि अष्ट्रेलिया जाने नेपालीहरुले अनाहकमा दुःख पाउँदै आएका छन् । भीसा नदिए काठमाडौंमा दूतावास कार्यालय खोल्नुको औचित्य नहुने भन्दै जनस्तरमा आलोचना पनि हुँदै आएको छ । 

नेपालको परराष्ट्र मन्त्रालय र अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग (डीएफएटी) बीचको द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को आज क्यानबेरामा सम्पन्न भएको हो । बीसीएम बैठकमा परराष्ट्र सचिव पौड्याल र अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागका उपसचिव  हेहर्स्टले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

अष्ट्रेलियाका क्यानबेरास्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिअनुसार दुवै पक्षले नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुका साथै शिक्षा, ऊर्जा, लगानी, व्यापार, पर्यटन, प्रविधि हस्तान्तरण, बसाइँसराइ, जलवायु कार्यमा सहयोग र विपद् जोखिम न्यूनीकरणलगायत विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान गरेका थिए ।

परराष्ट्र सचिव भरतराज पौड्याल र अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागका उपसचिव जस्टिन हेहर्स्ट बैठक सम्पन्न पछि  । तस्बिर सौजन्य/ नेपाली दूतावास, क्यानबेरा

उच्चस्तरीय भ्रमणको आदान–प्रदानलाई प्राथमिकतामा राख्न, जनताबीचको सम्पर्क प्रवद्र्धन गर्न, व्यापार, लगानी र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्न दुवै पक्ष सहमत भएको विज्ञप्तिमा छ । 

उनीहरुले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा आ–आफ्ना अनुभव आदान–प्रदान लगायत बहुपक्षीय मञ्चहरूमा सहकार्यका बारेमा पनि छलफल गरेको दूतावासले जनाएको छ ।

नेपाललाई अष्ट्रेलियाको सहयोगको प्रशंसा गर्दै परराष्ट्र सचिव पौड्यालले नेपाललाई अष्ट्रेलियन सहयोग, कोभिडपछिको आर्थिक पुनरुत्थानका लागि सहयोग, अल्पविकसित देशको स्थितिबाट उत्तीर्ण गर्न र ‘दिगो विकासका लागि एजेन्डा २०३०’ लाई साकार पार्न आग्रह गरे ।

यसअघि नेपाल र अष्ट्रेलियाबीच जलस्रोत व्यवस्थापनमा सहयोगसम्बन्धी समझदारीपत्रमा हिजो हस्ताक्षर भएको थियो । अष्ट्रेलियाले जलस्रोत व्यवस्थापनमा क्षमता विकास, तालिम र प्राविधिक सहयोगलगायतका विषयमा सहयोग गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

परराष्ट्र सचिवको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरे, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज ​पोखरेल, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापालगायत सहभागी थिए । परराष्ट्र मन्त्रालयका उपसचिव सीता बस्नेत र नेपाली दूतावासका नियोग उपप्रमुख कुलबहादुर मगर पनि प्रतिनिधिमण्डलका सदस्य थिए । 

नेपालको परराष्ट्र मन्त्रालय र अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार मन्त्रालयबीच सन् २०१७ जुलाई १४ मा स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक १६ अगस्ट २०१८ मा काठमाडौंमा भएको थियो ।
 

याे पनि‍‍..

नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनमा महत्वपूर्ण समझदारी


Author

थप समाचार
x