चिनियाँ जनकंग्रेसका सभामुख लि नेपाल आइपुगे, सभामुख सापकोटाले गरे स्वागत
काठमाडौँ- नेपालको तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) लि चान्सु नेपाल आइपुगेका छन् । उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका छन् ।
सापकोटाको निमन्त्रणामा आएका अध्यक्ष लिले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् । सोल्टी होटलमा केही समय आराम गरेपछि उनी नेपाली समकक्षी सापकोटासँग भेटवार्ताका लागि लि संसद् भवन नयाँ बानेश्वर जानेछन् ।
सभामुखले लिको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गरेका छन् । तर, राष्ट्रिय सभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले भने रात्रिभोजमा सरिक नहुने जनकारी गराएका छन् । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा नेपालले तीन दिन शोक दिवस मनाइरहेकाले यस्तो बेला आयोजना गरिएको रात्रिभोजमा आफू सरिक नहुने उनले जनाउ दिएको स्रोतले बतायो ।
मंगलबार अध्यक्ष लिले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।
बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष लि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने छन् । सोही दिन उनी दक्षिण कोरियातर्फ लाग्ने भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया