अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटघाट
काठमाडौं- अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावर र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेबीच शिष्टाचार भेट भएको छ ।
गत वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइएको स्मरण गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गरे ।
नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्रममा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा हाम्रा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको युएसएआइडीमार्फत विस्तार भएको जी टु जी सहयोग प्रमाण भएको उनको भनाइ थियो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले विकसित देशहरूले अपनाएको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता कम विकसित देशको अर्थतन्त्रको सुधारको गतिलाई सुस्त बनाएको र यसमाथि विश्वको साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनले अरू बोझ थपेको धारणा व्यक्त गरे ।
नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधै सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीतिको प्रशंसा गर्दै उनले नेपालले सन् २०२२ को मे मा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कुल अमेरिकी डलर ६५९ मिलियन बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गर्ने बताए ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले २०७२ सालमा नयाँ संविधान जारी भएसँगै जनताको मौलिक हकहरूको प्रत्याभूति गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना लिएर विकासको पथमा अघि बढिरहेको बताए ।
उनले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको जीवन पद्धतिसँग आबद्ध गर्न सफल भएको साथै भर्खरै तीन तहका निर्वाचनहरू सफलतापूर्वक सम्पन्न गरेको पनि जानकारी दिए ।
उक्त अवसरमा सहायताका अतिरिक्त वैदेशिक निजी क्षेत्रको लगानी उपयोग गरी नेपाल जलश्रोत विकासका क्षेत्रमा दक्षिण एसियामै क्लिन इनर्जीको स्रोत बन्न सक्ने सम्भावना रहेको कुरा व्यक्त गरेका थिए ।
युएसएआईडी प्रशासक सामन्था पावरले नेपाल मात्र जी टु जी सहायता प्राप्त सहायता परिचालन गर्ने देश भएको जानकारी दिइन् । भेटघाटका अवसरमा द्विपक्षीय विभिन्न मुद्दाहरूमा पनि छलफल भएको थियो ।
भेटका क्रममा नेपालका लागि अमेरिकी राजदूत, युएसएआईडी नेपालका मिसन डाइरेक्टर लगायतको उपस्थिति थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया