नेपाल–बंगलादेश कला तथा संस्कृति महोत्सव सुरु
काठमाडौँ - बङ्गलादेशको राजधानी ढाकामा पाँचदिने नेपाल–बंगलादेश कला तथा संस्कृति महोत्सव सुरु भएको छ। मंगलबार साँझ बंगलादेशका शिक्षामन्त्री डा. दीपु मोनी र नेपाली राजदूत घनश्याम भण्डारीले महोत्सव उद्घाटन गरेका हुन् । दूतावासले बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा बंगलादेश शिल्पकला एकेडेमीको सहयोगमा महोत्सव आयोजना गरेको हो ।
नेपाली राजदूतावासका अनुसार नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा महोत्सव आयोजना भएको हो । यसको उद्देश्य नेपाल र बंगलादेशको समृद्ध कलात्मक परम्परा र सांस्कृतिक सम्पदाहरू प्रदर्शन गर्नु रहेको दूतावासले जनाएको छ ।
महोत्सव शुभारम्भ गर्दै नेपाली राजदूत घनश्याम भण्डारीले घनिष्ट सांस्कृतिक र भाषिक सम्बन्ध नेपाल–बंगलादेश मित्रताको जग रहेको बताए । उनले महोत्सवबाट सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
शिक्षामन्त्री डा. दीपु मोनीले समृद्ध र जीवन्त कला र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न दुवै पक्षले गरेको प्रयासको प्रशंसा गरिन् । दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सांस्कृतिक आदान–प्रदान आवश्यक रहेको पनि मन्त्री मोनीको भनाइ थियो ।
बंगलादेशका विदेशसचिव शब्बिर अहमद चौधरीले नेपाल र बंगलादेशबीचको सांस्कृतिक समानतालाई जोड दिँदै राजनीतिक र आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन सांस्कृतिक कूटनीति महत्वपूर्ण हुने बताए ।
बंगलादेश शिल्पकला एकेडेमीका सचिव सलाहुद्दिन अहमदले दुई देशबीचको कला र सांस्कृतिक आदान–प्रदान प्रवर्द्धन गर्न एकेडेमीले निरन्तर सहयोग गर्ने बताए ।
बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीका अध्यक्ष मोसिउर अहमदले नेपाल र बंगलादेशबीच लामो समयदेखिको मित्रतालाई मनाउन महोत्सव आयोजना गरिएको बताए । महोत्सव उद्घाटन समारोहमा कूटनीतिज्ञ, कलाकार, विद्वान्, विद्यार्थीलगायत दुई सय ५० भन्दा बढी सहभागी थिए ।
महोत्सवमा बंगलादेश शिल्पकला एकेडेमीको राष्ट्रिय कला ग्यालरीमा नेपाल र बंगलादेशका कलाकृतिहरू प्रदर्शन गर्ने पाँच दिन लामो चित्रकला र फोटोग्राफी प्रदर्शनी समावेश छ । प्रदर्शनीमा ३३ नेपाली कलाकारका ५२ कलाकृति र ५० बंगलादेशी कलाकारका ८० भन्दा बढी कलाकृति राखिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया