कूटनीति

मन्त्री ज्वाला र रूसी राजदूतबीच भेटवार्ता

मेट्रो रेल निर्माणका लागि रूसी रेल्वे कम्पनी तयार, ठोस प्रस्ताव माग

इकागज |
भदौ ४, २०८० सोमबार १८:२६ बजे

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मेट्रो रेल निर्माणका विषयमा यहाँस्थित रूसका राजदूतलगायतसँग छलफल गरेका छन् । आज नेपालका लागि रूसी राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग मेट्रो रेल, सडक, सुरुङ मार्ग र रेलका विषयमा छलफल भएको मन्त्रालयका सहसचिव अर्जुन थापाले जानकारी दिए । 

रूसको मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ । रूसको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन । भारतका विभिन्न ठाउँमा पनि रूसी मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ । 


मन्त्री ज्वालाले काठमाडौँ उपत्यकामा मेट्रो रेल र पूर्वपश्चिम रेल मार्गका विषयमा छलफल गरेका हुन् । केही समयमै रूसी संसद्का अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदै छन् । उनको भ्रमणअघि मेट्रो रेल, पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रूसी टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ । 

छलफलमा मन्त्री ज्वालाले काठमाडौँ उपत्यकामा सञ्चालन गर्ने गरी मेट्रो रेलको प्रस्ताव गरेका थिए । 'मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका विषयमा छलफल भयो,' मन्त्रालयका सचिव केशवकुमार शर्माले भने । 

जवाफमा रूसी राजदूतले मेट्रो रेल निर्माणका लागि रूसी रेल्वे कम्पनी तयार रहेको बताएका थिए । त्यसका लागि ठोस प्रस्तावसमेत माग गरिएको छ । यस्तै, पोखरा–रिडी सडकका विषयमा पनि चासो देखाएको बताइएको छ । रूसी पक्षको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको सहसचिव थापाले बताए । छलफलका क्रममा मन्त्री ज्वालाले नेपालका सयौँ इन्जिनियरहरूले रूसबाट तालिम र शिक्षा लिएको र उनीहरूको दक्षताले नेपाललाई सहयोग पुगेको बताएका थिए । रासस


Author

थप समाचार
x