नेपालको पर्यटन विकासमा सहयोग गर्न तयार छौं : राजदूत पार्क
काठमाडौँ- नेपालका लागि दक्षिण कोरियाका राजदूत ताय-योङ पार्कले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आफूहरू तयार रहेको बताएका छन् ।
कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान)को आयोजना तथा दक्षिण कोरियाली राजदूतावासको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कोरियाली पर्यटकको खानपिन, सुरक्षा र उद्धारसम्बन्धी आज यहाँ आयोजित एक दिवसीय तालिमका अवसरमा उनले नेपालमा कोरियाबाट पर्यटक ल्याउनका लागि सहयोग गर्न आफूहरू तयार रहेको बताए ।
'आउँदा दिनमा नेपाल आउने कोरियन पर्यटकहरूको सङ्ख्या अझै बढ्ने विश्वास लिएको छु । नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्र्याउनका लागि सहकार्य र सहयोग गर्न तयार छौँ,' उनले भने ।
सन् २०२४ नेपाल कोरिया दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्दै छ ।
कोरियामा बिदाको समयमा साना–साना पहाड तिर पदयात्रामा जाने चलन बढ्दो रहेको भन्दै राजदूत पार्कले भने, 'नेपालमा पदयात्राका लागि पदमार्गहरू धेरै भएकाले पनि कोरियन पर्यटकहरू नेपालमा बढ्ने विश्वास लिएको छु ।' यसका लागि कोटानसँग सहकार्य र सहयोग रहने उनको भनाइ छ ।
कोटानका अध्यक्ष अमरबहादुर शाहीले सङ्घमा आबद्ध ट्राभल र ट्रेकिङ कम्पनीका कर्मचारीलाई कोरियन पर्यटकहरूलाई कसरी स्वस्थकर खानपिनको व्यवस्था गर्ने र पदयात्रामा जाँदा हुनसक्ने सम्भावित समस्यालाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा तालिमको आयोजना गरिएको जानकारी दिए ।
'नेपालको पर्यटकको प्रमुख स्रोत मुलुकमध्ये दक्षिण कोरिया पनि एक हो, उक्त देशबाट आउने पर्यटकहरूलाई स्तरीय सेवा दिनका लागि पनि यो तालिम गर्न आवश्यक थियो,' उनले भने ।
कोरियन पर्यटकलाई नेपालमा सेवा दिन नेपालस्थित ट्रेकिङ एण्ड ट्राभल कम्पनीमा कार्यरत गाइड, कुक र सहायक गाइड गरी एक सयभन्दा बढी तालिममा सहभागी छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया