कूटनीति

बढ्‍यो दिल्लीमा चासाे

विपक्षीसँग 'डिल' गर्न आवश्यक छैन, कूटनीति सिक्नुहोस : भारतीय नेता

चन्द्रशेखर अधिकारी |
जेठ १३, २०७८ बिहीबार २१:१० बजे

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पठाएको पत्रबारे  सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) ले चासो व्यक्त गरेको छ । राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराइदिनका लागि पहल गरिदिन अनुरोध गर्दै समकक्षीलाई मंगलबार पत्राचार गरेकी थिइन् ।

बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालको पछिल्लो राजनीतिक अवस्था, कोभिड-१९ नियन्त्रण र राष्ट्रपति तहको पत्राचारबारे भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँग छलफल गरेका थिए । बिहीबार अपरान्ह नेपाली दूतावासमा झण्डै एक घन्टा बिताएका चौथाईवालेले नेपालको राजनीतिक अवस्थासँगै अहिलेको महामारी र त्यसको नियन्त्रणका लागि भएका प्रयासका विषयमा चासोमात्र राखेनन्,  राष्ट्रपतिको तहबाट पत्राचार हुनुको सन्देश के हो भनेर जिज्ञासा राखेको दूतावासका एक अधिकारीले जानकारी दिए । 


राजदूत आचार्यसँग खोप र अक्सिजनलगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिका विषयमा छलफल गरेको दूतावासले औपचारिक जानकारी बाहिर ल्याए पनि चौथाईवाले खासगरी राष्ट्रपतिको पत्र र नेपालको राजनीतिबारे छलफल गर्न दूतावास आएका थिए । उनले राष्ट्रपति तहबाट भएको पत्राचारको विषयलाई सत्तारुढ दलले गम्भीर रूपमा लिएको र कार्यकारी प्रमुख तहमा हुनुपर्ने काम आलंकारीक राष्ट्रपतिको तहमा किन भयो भन्दै जिज्ञासा राखेका थिए । 

चौथाईवालेले चीनबाट नेपाल खोप आउने भएपछि यो तहको राजनीति भएको हो ? भन्दै गम्भीर आपत्ति जनाएको पनि स्रोतको दाबी छ । नेपालले साच्चै अब राष्ट्रपति तहमा नै छलफल र पत्राचार गर्ने हाे त भन्दै उनले कूटनीतिक ठट्टासमेत गर्न भ्याएका थिए ।  'प्रधानमन्त्री नरेन्द्र माेदीसँग गफ गर्ने कानुनी आधार नभएर त्यस्तो पत्राचार भएको हो त?' चाैथाईवालेको प्रश्‍न थियो । यसअघि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले अक्सिजन उपलब्ध गराउन पत्राचार गरेकाे विषय पनि उनले उठाएका थिए । 

नेपालमा आइपर्ने यस्ता समस्यामा भारत सहयोग गर्न सधै तयार रहेको बताउँदै चौथाईवालेले कोभिड महामारी नियन्त्रणका लागि नेपालले भारतबाट कस्तो सहयोग चाहेको हो त्यो स्पष्ट राख्‍नसमेत आग्रह गरेका थिए । राजदूत आचार्यले भारतीय विपक्षी दल कांग्रेससँग पनि छलफल गरेको र सरकारले खोप उपलब्ध गराए आफूले विरोध नगर्ने सुनाए । जवाफमा चौथाईवालेले अबको २० वर्ष बीजेपी नै सत्तामा रहने भएकाले नेपालले सिधै आफूहरूसँग कुरा गर्न सुझाउँदै भने, 'यति बलियो कार्यकारी हुँदाहुँदै छिमेकीले विपक्षीसँग कुरा गर्न आवश्यक छैन । महामारीको समयमा सहयाेगको निर्णय सरकारले नै लिने हो । त्यसकारण सिधा कार्यकारी तहमा नै 'डिल' गर्न उपयुक्त हुन्छ ।'

राजदूत आचार्यले कोभिड महामारीको विषयमा नेपाललाई आवश्यक पर्ने खोप र अन्य सामग्रीको बारेमा चौथाईवालेसँग छलफल भएको बताए । भारतको सिरम इन्स्टिच्युटले आपूर्ति गर्न बाँकी दश लाख खोप तत्काल उपलब्ध गराउन पहल गरिदिन पनि राजदूतले बीजेपी नेतालाई आग्रह गरेका थिए । 

नेपाल सरकारले सिरमलाई २० लाख डोज खोपको अग्रिम भुक्तानी गरे पनि हालसम्म १० लाख डोज मात्र आपूर्ति गरेको छ । खोप आउने ढुक्क भएर पहिलो डोज लगाएका जेष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् । उनीहरूमा भारत विरोधी भावना स्वभाविक रूपमा बढ्ने सम्भावना प्रति भारतीय पक्षले चासो दिएका छैन। 

सिरमले समयमा खोप उपलब्ध नगराउँदा नेपालको खोप कार्यक्रम नै प्रभावित छ । यस्तोमा राजदूत आचार्य र चौथाईवालेबीच भेट भएको हो । चौथाईवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहका विश्‍वासपात्र मध्येका एक हुन । दूतावासले भेटमा राजनीतिक विषयमा छलफल नभएको भनिए पनि पछिल्लो राजनीतिक अवस्था बारेमा पनि कुरा उठेको स्रोतको दाबी छ ।

यद्यपि बीजेपी नेता चौथाईवालले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भन्दै विदेश मन्त्रालयकै धारणा दोहोर्‍याएका थिए । नेपालको घटनाक्रमलाई भारतले नजिकबाट नियालेको तर त्यो आन्तरिक मामिला भएको भारतीय विदेशमन्त्रालयको भनाई थियो । राजनीतिक घटनाक्रमबारे चोथाईवालेको धारणा पनि भारतीय विदेश मन्त्रालयको जस्तै रहेको राजदूत आचार्यले स्पष्ट पारे ।

राजदूत आचार्य र बीजेपी नेता चौथाईवालेबीचको भेट अन्तराष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाको पहलमा भएको थियो । राना स्वयं पनि भेटमा सहभागी थिए । चौथाईवालेलाई रानाले नै नेपाली दूतावास लिएर आएको दूतावास अधिकारीले बताए । 

चौथाईवाले कोभिडकै समय अर्थात गत मंसिरमा काठमाडौँमा राजनीतिक भेटघाट गरेका थिए । हुन त त्यसअघि नै भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयल नै काठमाडौँ आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मध्येरातसम्म लामो वार्ता गरेर फर्केका थिए । त्यसलाई सामान्यीकरण गर्न चौथाईवाले नेपाल आएका थिए । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x