कूटनीति

परराष्ट्रमन्त्री साउदसँग कतारका विदेश राज्यमन्त्रीको भेट

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह, यथाशीघ्र सहयोग गर्ने आश्वासन

इकागज |
मंसिर ८, २०८० शुक्रबार १४:३७ बजे

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । 

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।


विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए ।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिए । भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्ध विराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेका मध्यस्थकर्ताको भूमिकाको प्रशंसा पनि गरे ।

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

भेटका क्रममा उनीहरूबीच रोजगारी, व्यापार तथा लगानी आदान प्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।


Author

थप समाचार
x