श्रीलंकाका विदेशमन्त्री बुधबार नेपाल आउँदै
काठमाडौँ- श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौँ आउने भएका छन् ।
उनी नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक पुस ५ र ६ गते काठमाडौँमा हुँदै छ । बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले गर्ने छन् ।
बैठकमा नेपाल-श्रीलंका सम्बन्धका सबै आयामहरूमा छलफल र समीक्षा गरिने बताइएको छ ।
नेपाल भ्रमणका बेला श्रीलंकाका विदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदसँग छुट्टै भेटवार्ता गर्ने मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भ्रमणका क्रममा श्रीलंका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । उनी पुस ७ गते स्वदेश फर्कने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया