विपिन जोशीको जीवनरक्षा गर्न सभामुख घिमिरेको अपिल
काठमाडौं - सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवनरक्षा र सकुशल रिहाइका लागि अपिल गरेका छन् । नेपालका लागि इजरायली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरबारमा बुधबार भएको भेटमा सभामुख घिमिरेले विपिन निर्दोष रहेको बताउँदै सकुशल रिहाइका लागि अपिल गरेका हुन् ।
‘नेपालको संसद र मेरो व्यक्तिगत अपिल पनि के छ भने जोशीको सकुशल रिहाइ हुनुपर्छ,’ उनले राजदूतसँग भने । सभामुख घिमिरेले प्रतिनिधि सभामा विपिनको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरू इजरायलमा शीघ्र शान्तिको पक्षमा रहेको बताए । हमासले युद्धमा सामेल नभएका इजरायली र विदेशी गरी दर्जनौं मुक्त गर्दा पनि विपिनलाई बन्धक नै बनाएको छ ।
गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि विपिन सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धक मुक्त नहुनु दुःखद रहेको बताए । उनले विपिन व्यक्तिगतरुपमा पनि परिचित रहेको उल्लेख गर्दै उनको परिवारलाई नियमित पारिश्रमिक व्यवस्था गरेको जानकारी दिए ।
राजदूत गोल्डवेरगरले विपिनको जीवनरक्षाबारे संसदीय समितिले ‘नोट’ जारी गरेको स्मरण गर्दै संसदबाट पनि संकल्प प्रस्ताव पारित गरे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट हुने धारणा राखे ।
भेटमा दुई मुलुकबीचको सम्बन्ध, कृषि प्रवद्र्धन कार्यक्रम लगायतका विषयमा छलफल भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया