कतारमा नेपाली दूतावासले स्वदेशमा लगानी भित्र्याउन सम्मेलन गर्दै
काठमाडौँ- नेपालमा लगानी भित्र्याउने उद्देश्यले कतारमा आर्थिक सम्मेलन हुने भएको छ । कतारस्थित नेपाली दूतावासले स्वदेशमा हुने तेस्रो लगानी सम्मेलनलाई लक्षित गरी लगानी सम्मेलन गर्न लागेको हो ।
आगामी साता कतारका लगानीकर्तालाई नेपाल भित्र्याउन र लगानी सम्मेलनमा आमन्त्रित गर्न लगानीकर्ताको सम्मेलन गर्न लागेको कतारस्थित नेपाली राजदूतावासका राजदूत नरेशविक्रम ढकालले जानकारी दिए । नेपालमा लगानी गर्न राम्रो वातावरण रहेको सन्देश दिन कतार फाइनान्स सेन्टरसँग सहकार्य गरेर आयोजना हुन लागेको उनले बताए ।
'कतारका लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण छ । ढुक्कले लगानी गर्दा हुन्छ भन्छौँ,' ढकालले भने, 'नेपालमा कतारी लगानीको वृद्धि गर्ने वातावरण बनाउनु पनि सम्मेलनको उद्देश्य हो । दूतावासले आयोजना गरेको हलमा आवश्यक प्रस्तुतीकरण दिनेछौँ ।'
उनका अनुसार कतार इन्भेष्टमेन्ट अथोरिटी, कतार चेम्बर अफ कमर्श, कतार फाइनान्स सेन्टर र कतार बिजनेश मेन एशोसिएशनको प्रतिनिधित्व हुनेछ । विभिन्न संस्था लगायत दुई सय लगानीकर्तालाई उपस्थिति गराउने गरी तयारी भएको छ ।
दुई सय जनाको उपस्थितिमा नेपाल लगानी बोर्डमा भएका सामग्रीहरूको प्रस्तुतीकरण गर्ने राजदूत ढकालले बताए ।
'नेपालमा लगानी गर्नका लागि वातावरण उपयुक्त छ भनेर हामीले सो सम्मेलनमा भन्नेछौँ,' उनले इकागजसँग भने, 'लगानी गर्नका लागि आवश्यक कानुन र प्रचलित ऐन नियमको बारेमा बुझाउने छौँ । नेपाल लगानी गर्न उपयुक्त देश तथा चिनाउनका लागि सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गर्न लागेका छौँ ।'
कतारीले कृषि, पर्यटन क्षेत्र र हाइड्रोपावरको क्षेत्रमा लगानी गर्न चाहेको राजदूत ढकालले उल्लेख गरे । 'नेपालको राजनीतिक अस्थिरता र लगानी गरिसकेपछि त्यसको प्रतिफल फिर्ता ल्याउन कठिन रहेको भनेर उनीहरूले बुझेका छन् । यसमा द्विविधा मानेको अवस्था भएकाले नेपालमा त्यस्तो छैन भनेर प्रस्तुतीकरण दिनेछौँ,' उनले कतारी लगानीकर्ताको भनाइ उदृत गर्दै भने ।
निकट भविष्यमा कतारी अमिरको नेपाल भ्रमणका लागि दूतावास लागिरहेको ढकालले बताए । अमिरको भ्रमणमा विभिन्न विषयमा सम्झौता गर्न लागिएको उनले जानकारी दिए । कतार र नेपालकौ दौत्य सम्बन्ध थप सुदृढ हुनेमा उनले विश्वास व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया