किन बोल्दैन सरकार?
नेपाली भू-भाग हुँदै मानसरोवर जाने सडक निर्माण रोकिएन
भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक। फाइल तस्बिर/रासस।
काठमाडौँ : त्रिदेशीय बिन्दुभन्दा वर नेपाल तर्फको भू-भाग (लिपुलेक, कालापानी र लिम्पियाधुरा) हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर पुग्ने सडक निर्माणमा भारतले थप तीव्रता दिएको छ । नेपाली भू-भाग हुँदै लगेको उक्त सडक खण्डमा नेपालको अनुमतिविनै किन काम भएको भन्दै नेपालले आपत्ति जनाएको थियाे । नेपालको चासोपछि भारतले आफ्नो भू-भाग भन्दै काम अघि बढाएको छ ।
भारतले काम रोक्नुको सट्टा काममा थप तीव्रता दिइरहेको छ। गत वर्षको बैशाखमा यही विषय उठेपछि नेपाल-भारत सम्बन्ध फेरि एकपटक बहसमा आएको थियो । २०७७ वैशाख २६ गते दिल्लीबाट भिडियो कन्फरेन्समार्फत् उक्त सडक उद्घाटन गरेका थिए । उनले सोही सडक खण्डलाई भारतको उल्लेखनीय उपलब्धि बताउँदै त्यसमा काम गर्नेको उनले प्रशंसा गरेका हुन् ।
दिल्लीबाट सबैभन्दा छोटो रुटमा मानसरोवर जाने सडक खण्ड हो । त्यो कार्यमा संलग्न सुरक्षा निकायका अधिकारीको उनले शुक्रबार निकै प्रशंसा गरे । सीमा क्षेत्रमा सडक निर्माण गर्ने कार्य सुरक्षा निकाय बोर्डर रोड अर्गनाइसेजन (बीआरओ) ले नै कैलाश मानसरोवर यात्राका लागि नयाँ सडक निर्माण गरेको हो । उक्त सडक निर्माण भएकोमा खुशी व्यक्त गर्दै त्यसले धार्मिक यात्रालाई सहज बनाएको बताएका छन् ।
‘पछिल्ला वर्षमा बीआरओले उल्लेखनीय उपलब्धिहरू गर्यो । चाहे यो अटल टनल रोहता जस्ता नयाँ विश्वस्तरीय निर्माण कार्यको थालनी होस्, कैलाश मानसरोवर यात्राका लागि नयाँ मार्ग निर्माण होस्, बीआरओले नयाँ रेकर्ड कायम गरेको छ,’ नयाँ दिल्लीबाट भिडियो कन्फरेन्समार्फत् सिंहले बीआरओलाई सम्बोधन गर्दै भनेकाे उनकै ट्वीटमा छ। यता राजनीतिक असहजता आएको अवस्थामा भारतले पुनः उक्त सडक खण्ड विस्तारमा जोड दिएको मात्र होइन, सडक निर्माण कार्यमा संलग्न हुनेलाई प्रशंसा गर्ने काम हुनु अर्थपूर्ण छ ।
निवर्तमान परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले २०७७ बैशाखको अन्त्यमा संसदको अन्तराष्ट्रिय समितिमै गएर नै भनेका थिए, ‘भारतले नेपाली भूमिमा नेपालको जानकारीविना नै सडक निर्माण गरेको छ । उक्त ७८ किलोमिटर भनिएको सडकमा १९ किलोमिटर नेपाली भूभागमा परेको छ ।’ त्यसपछि नेपाल-भारत सम्बन्धमा उतारचढाव देखा परेको थियो । तर पनि नेपालले यसबारे पछिका दिनमा कुरा उठाउन छोड्यो । जारी गरेको नक्सा पुस्तकमा राखिएन ।
त्यसको पाँच महिनापछि भारतीय खुफिया एजेन्सी 'रअ' का प्रमुख सामन्त गोयल काठमाडौ ओर्ले । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मध्यरातमा अस्वाभाविक वार्ता गरे । अनि दुई मुलुकबीच सम्बन्ध सुधारको प्रचार गरियो । भारतको स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरावणेले पनि नेपालको प्रधानसेनापतिकाे मानार्थ दर्ज्यानी लिन लागि नेपाल आए ।
भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले पनि सम्बन्ध सहजीकरणमा ध्यान पुर्याउने भन्दै नेपाल आए । जसले विस्तारै नेपाल-भारत संवादमा फर्केका र समस्या समाधान हुने देखेका थिए । तर, भारतले पुनः सडक निर्माणलाई तीव्रता दिएर सम्बन्धमा हिलो छ्याप्ने काम भएको परराष्ट्र अधिकारी बताउँछन् ।
उक्त सडक भारतको पिथौरागढको गर्वाधारबाट नेपालको कालापानी क्षेत्र हुँदै चीनको मानसरोवर जोड्ने गरी निर्माण गरेको छ । यो निकै विवादस्पद बाटो हो । भारतले नेपालको भूभागमा आफ्ना सैन्य दस्ता नै राखेर यो प्रकारको काम अघि बढाएको हो । ७८ किलोमिटरको उक्त सडक नेपालको कालापानी, लिपुलेक क्षेत्रमा पर्दछ ।
नेपाली भूभागमा समेत बनेको सडक उद्घाटनको समाचार नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएपछि निर्माण रोक्न नेपाल सरकारमाथि दबाब परेको थियो । पहिले नसुनेको झै बसेको सरकारले सञ्चारमाध्यममा आएपछि भारतलाई पत्राचार गर्यो । तर निर्माण कार्य रोकिएन । उल्टै भारतले खण्डन गर्दै आफ्नो भूभागमा सडक बनाउने काम भएको बतायो ।
भारतले कुनै समस्या भए नेपाल र भारतबीच कोभिड कम भएपछि छलफल गर्ने बताएको भारतले वार्ताविना काम अघि बढाइरहेको छ । यो विषयमा नेपाल र भारतबीच खासै खुलेर कुरा हुन सकेको छैन । भारतले निकै बलमिच्याई गरेपछि राष्ट्रवादी देखिएको सरकारले लिम्पियाधुरासहितको भू-भागलाई समेटेर जेठ ७ गते नयाँ नक्सा जारी गरे पनि स्कुले पुस्तकमा राखिएको छैन ।
भारतले नेपालको उक्त नयाँ नक्सालाई अस्वीकार गर्यो । हुन त, भारतले २०७६ को कात्तिक जम्मु-कश्मिर र लद्दाखलाई फरक राज्य र केन्द्र शासित बनाए लगत्तै जारी गरेको राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि आफ्नोमा पारेको थियो । त्यसकै जवाफ नेपालले दिएको हो । नेपालले जवाफ मात्र दिएको छ तर उसको सैन्य दस्ता नै नेपाली भूभागमा छ ।
पछिल्लो समय उक्त सडक निर्माण कार्यमा तीब्रता दिएको भारतले तीन दिनअघि उक्त बाटोको गर्वाधारमा चट्टान फुटाउँदा विस्फोटक पदार्थ प्रयोग गरेकाले गर्दा दार्चुलाको तल्लो भागबाट माथिल्लो भाग जान नपाउँदा त्यहाँको स्थानीयहरू असहजमा परेको समाचार संप्रेषण भएका छन् । ब्यास गाउँपालिका-२ स्थिल क्षेत्रको बाटो भत्किएको छ । विस्फोटले चट्टान झरेर घोडेटो बाटो समेत बन्द भएको समाचार जिल्लाबाट आइरहेका छन् ।
यस विषयमा परराष्ट्र मन्त्री रघुवीर महासेठ सम्पर्कमा आउन चाहेनन् । इकागजले मन्त्री महासेठसँग पटक-पटक सम्पर्क प्रयास गर्दा उनले चासाे दिएनन् ।
पिछले पांच-सात सालों में, BRO ने उल्लेखनीय उपलब्धियाँ हासिल की हैं। वह चाहे नए-नए विश्वस्तरीय निर्माण कार्यों जैसे 'अटल टनल, रोहतांग' का लोकार्पण हो, कैलाश मानसरोवर यात्रा के लिए नए मार्ग का निर्माण हो, BRO ने लगातार नए रिकॉर्ड कायम किए हैं। pic.twitter.com/O3d8UxLmoQ
— Rajnath Singh (@rajnathsingh) June 11, 2021
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया