कूटनीति

प्रधानमन्त्रीसँग बंगलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट

इकागज |
जेठ ८, २०८१ मंगलबार १७:३३ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच विद्युत् व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी चासोका विविध विषयमा छलफल भएको छ । 


सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल–बंगलादेशबीच हुने विद्युत् व्यापार गर्नका लागि आवश्यक पर्ने प्रक्रिया पूरा हुने अवस्थामा रहेको र छिट्टै दुई देशबीच व्यापार सुरु हुने विश्वास व्यक्त गरे । आगामी दिनमा विद्युत् व्यापार क्षेत्रीयस्तरमै सहज रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि आवश्यक नियमन एवं भौतिक संरचना तयार हुँदै गएकोप्रति खुसी व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र बंगलादेश दुवैले जलवायु परिवर्तन असर व्यहोर्नु परेको उल्लेख गर्दै यस्ता साझा मुद्दामा दुवै देशले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

बंगलादेशका मन्त्री चौधरीले नेपाल–बंगलादेशबीच ऊर्जा सहकार्य अगाडि बढेको उल्लेख गर्दै छिट्टै ऊर्जा व्यापार भएर दुवै देशले लाभ लिन सक्ने अवस्थामा पुगिएको बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई नेपाल–बंगलादेशबीच हुने ऊर्जा व्यापारका सबै तयारी पूरा भएको जानकारी समेत गराए । 

मन्त्री चौधरी नेपालले आयोजना गरेको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा भाग लिन नेपाल आएका हुन् । 

सो भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटा, प्रधानमन्त्रीका जलवायु तथा वातावरण सल्लाहकार डा.पपुलर जेन्टलसहित वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो । 


Author

थप समाचार
x