कूटनीति

राष्ट्रपति पौडेलद्वारा पूर्वी बर्लिन क्षेत्रको अवलोकन

इकागज |
असार ४, २०८१ मंगलबार २०:५४ बजे

वर्लिन (जर्मनी)- राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणका क्रममा मंगलबार पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । 

आजै उनले वर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । त्यस क्रममा राजदूतलगायतका दूतावासका कर्मचारीले नेपालमा जर्मनी लगानी भित्र्याउनका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । 


भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आएका थिए । सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । 

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । राष्ट्रपति पौडेल आजै स्वदेश फर्कने क्रममा वर्लिनबाट कतारको दोहा प्रस्थान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x