कूटनीति

थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

इकागज |
असार ९, २०८१ आइतबार ७:५४ बजे

काठमाडौँ - थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । 

राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ ।


ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशसँग शिष्टाचार भेट गरेका थिए । 

त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजदूत ओलीले थाई नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे । 

राजदूत ओलीले नेपाल र थाइल्याण्डबीच घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको, त्यो सम्बन्ध दुवै देशका सरकार र जनताबीच आत्मीयतापूर्वक कायम रहेको, ऐतिहासिक रुपमा साझा संस्कृति र साझा मूल्यमान्यताले दुवै देश बाँधिएका बताए । 

उहाँले क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा दुवै देशले एकअर्कालाई सहयोग एवं समर्थन गर्दै आएका उल्लेख गर्दै नेपाल र थाइल्याण्डका जनताबीचको प्रगाढ सम्बन्धसँगै प्राचीनकालदेखि नै बौद्ध धर्मको विकास हुँदै आएको बताए । 

राजदूत ओलीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र महाराजा राजर्षि जनकको राजधानी जनकपुरमा उपयुक्त समयमा थाई नरेशलाई स्वागत गर्न राष्ट्रपति पौडेलको चाहनाबारे अवगत गराए । 

प्रत्युत्तरमा  थाई नरेशले राष्ट्रपति पौडेलको निमन्त्रणालाई सहर्ष स्वीकार गरे । 

निमन्त्रणाका निम्ति राष्ट्रपति पौडेलप्रति कृतज्ञता ज्ञापन गर्दै उनको सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका थिए ।  

ओहोदाको प्रमाणपत्र पेस गर्न आयोजित विशेष समारोहमा थाइल्याण्डकी रानी सुथिदा बज्रसुधाबिमलाक्षणा उपस्थित थिए । 

थाइल्याण्डमा कार्यभार सम्हालेका राजदूत ओलीलाई स्वागत गर्दै थाई नरेशले उनको कार्यकालको सफलताको कामना गरे  । 


Author

थप समाचार
x