Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

कूटनीति

बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट

इकागज |
असार २७, २०८१ बिहीबार ११:४७ बजे

काठमाडौं - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत पाथिराना बुधबार प्रमुखको कार्य कक्षमा आएका थिए ।  

भेटका क्रममा आपसी सम्बन्धलाई औपचारिकता दिन काठमाडौँ र कोलम्बो बीच भगिनी सम्बन्धको सम्भावना, बौद्ध इतिहासमा लुम्बिनी र काठमाडौंको महत्वसँग श्रीलंकाको सम्बन्ध, बौद्ध तीर्थयात्रा मार्ग, स्वास्थ्य र शिक्षामा आपसी सिकाइ लगायत विषयमा कुराकानी भएको थियो । 


यस क्रममा प्रमुख शाहले, सांस्कृतिक पर्यटनबाट देश–देश र नगर–नगर बीचको सम्बन्धबाट नागरिक तहमा लाभ पुग्ने धारणा राखे ।

‘दुई देश बीच मैत्री क्रिकेट खेल आयोजना गर्न सकिन्छ । कला, खेल तथा गीत संगीत क्षेत्रका व्यक्तिहरूका बीचमा ज्ञान सिप आदान प्रदान गर्न सकिन्छ । मानव संशाधन विकास देखि पूर्वाधार विकाससम्मका क्षेत्रमा सहकार्य सम्भव छ ।’ प्रमुख शाहले कोलम्बोबाट भैरहवा विमानस्थलमा अन्तर्राष्‍ट्रिय विमास सञ्चालन गरेर श्रीलंकालाई सिधा लुम्बिनीसँग जोड्न सकिने बताए । त्यस क्रममा उनले श्रीलंकाको स्वास्थ्य र शिक्षा क्षेत्रका सेवा तथा कार्यक्रम, कृषि उत्पादनको चक्रका बारेमा जिज्ञासा राखेका थिए । 

भेटका क्रममा राजदूत पाथिरानाले, महानगरपालिकाले गएको वैशाख/जेष्ठ महिनामा आयोजना गरेको सिप मेलाको प्रशंसा गर्दै भने, ‘नागरिक सहभागितामा काम गर्ने प्रमुख शाहको कार्य शैलीको म प्रशंसक हुँ ।’

बुद्ध कालदेखि नेपाल र श्रीलंका बीच सम्बन्ध रहेको बताउँदै राजदूत पाथिरानाले दुई देश बीच साहसिक पर्यटनको पनि उत्तिकै सम्भावना रहेको उल्लेख गरेका थिए ।  कुराकानीका क्रममा हिमालदेखि समुद्री तटसम्मको सम्बन्ध स्थापना गरेर आपसी ज्ञान र हित प्रवर्द्धनमा जोड दिइएको थियो । 

भेटमा आपसी सद्भाव प्रतीकका लागि मायाको चिनो आदान प्रदान गरिएको थियो । यस क्रममा प्रमुख शाहले बुद्धको प्रतिमा प्रदान गरेका थिए । यस्तै राजदूत पाथिरानाले, श्रीलंकाको प्रसिद्ध चिया प्रदान गरेका थिए । 

भेटका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयबाट कोपिला खतिवडासहित अधिकारीहरू सहभागी थिए । 


Author

थप समाचार
x