कूटनीति

राजदूत शर्माको भनाइ अझैँ कार्यान्वयनमा आएनः भारतमा नेपालीले पाउँदैनन सीमकार्ड

'भारतीय टेलिकमले नेपालीलाई नदिनु भनेको छ'

इकागज |
कात्तिक ११, २०८१ आइतबार १७:२१ बजे

काठमाडौँ- आठ महिनाअघि भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले खुसी कुरा भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखे । उनले भनेका थिए,’ अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सीमकार्ड पाइने भएको छ। पहिले प्राविधिक कारणले पाइँदैन थियो।‘

राजदुतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा भनेर उनले उल्लेख गरेका थिए । उनले उक्त भनाइ सार्वजनिक गरेको झण्डै एक वर्ष हुन लाग्दा पनि नेपालीले भारतमा सहजै सीमकार्ड पाउन सकेका छैनन् ।


तिनै राजदूत शर्माले सार्वजनिक गरेका कुराहरू कार्यान्वयनमा आउन नसक्दा भारतमा पुगेका नेपालीहरूले सीमकार्ड पाउन सकेका छैनन् । दैनिक जसो व्यापार, उपचार र भ्रमणका लागि पुगेका नेपालीहरू सीमकार्ड लिन वञ्चित छन् ।

तर, भारत पुगेका नेपालीले आफ्नो परिचय खुल्ने कार्ड देखाए पनि भारतीय सीमकार्ड पाउने गरेका छैनन् ।

कतिपय नेपालीहरू भारतमा रहेका आफन्त तथा साथीहरूको सीमकार्ड लिन बाध्य छन् । विदेशीले भने नेपाल प्रवेश गर्नसाथ सीमकार्ड पाउने गरेका छन् । आखिर किन नेपालीहरूले छिमेकी मुलुक भारतमा सीमकार्ड पाउन सकेका छैनन् ?  

भारतस्थित नेपाली दूतावासका एक कर्मचारीले नेपालीहरूले अहिले पनि यहाँ सहजै सीमकार्ड पाउन नसकेका बताए । उनले भने,’ यहाँको टेलिकमले नेपालीलाई नागरिकलाई सीमकार्ड उपलब्ध नगराउन भनिएकाले कम्पनीले सीमकार्ड उपलब्ध गराएका छैनन् ।‘

उनका अनुसार भारतमा रहेका नेपाली विद्यार्थी र स्थायी बसोबास गरेका नेपालीले मात्र सीमकार्ड पाएका छन् । जोसँग भारतीय भिसा र आधार कार्ड रहेको छ उसले सहजै सीमकार्ड खरीद गर्न पाइरहेको उनको भनाइ छ ।

उनले भारतीय टेलिकमको भनाइ उदृत गर्दै अगाडि थपे,' भोडाफोन र एयरटेलले नेपाली नागरिकलाई सीमकार्ड दिन मिल्दैन भनेर बताएको छ । हामीलाई टेलिकमले दिनु भनेपछि मात्र नेपालीलाई दिन्छौ ।'

 झण्डै दुई वर्षअघि तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिल्ली पुगेर नेपाली टोलीको नेतृत्व गर्दै पुग्दा नेपालीहरूले भारतीय सिमकार्ड प्रयोग तथा खरिद प्रक्रिया झन्झटिलो भएको आवाज उठाएकी थिइन् ।

त्यहाँ उनले आफ्ना समकक्षी र सञ्चार मन्त्रालयका उच्च अधिकारीहरूसँग नेपालीले भारतीय सिमकार्ड खरिद गर्न नपाउने विषयमा समेत छलफल गरेकी थिइन् । मन्त्री र राजदूतले नेपालीहरूले भारतमा साझा समस्या राख्दासमेत सहजै सीमकार्ड प्रयोग गर्न पाएका छैनन् ।

त्यसैगरी, नेपालमा झन्डै ६ लाख भन्दा बढी भारतीयहरूको बसोबास छ । जुन अलिखित छ । लामो समयदेखि बस्दै आएका व्यक्तिहरू, व्यवसायीहरू र निर्माण तथा अन्य रोजगारका क्षेत्रमा कार्यरत श्रमिकहरू पर्छन् ।

तर, उनीहरूले भने सहजै सिमकार्ड पाउने गरेका छन् । आवश्यक परिचयपत्र देखाएमा विमानस्थल नेपाल प्रवेश गर्ने नाकाबाट सहजै सिमकार्ड पाउँछन् ।

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा ठूलो सङ्ख्या भारतीयहरूकै छ । धार्मिक पर्यटक बढी हुने गरेका छन् । उनीहरू पशुपति, लुम्बिनी तथा मुक्तिनाथ दर्शन गर्न पुग्छन् । नेपाल प्रवेश गर्न साथ भारतीयले नेपाली सीमकार्डको प्रयोग गर्न पाउँछन् ।

नेपालमा रहेका भारतीय वा घुम्न आउने पर्यटकहरूले सहजै नेपाली सिमकार्ड पाउने गरेका छन् ।  नेपाल टेलिकमका अनुसार भारतीयले आधार कार्ड वा आफ्नो राहदानीका आधारमा सिमकार्ड प्राप्त गर्छन् ।

 

 


Author

थप समाचार
x