कूटनीति

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता

इकागज |
मंसिर १४, २०८१ शुक्रबार २१:३९ बजे

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ।

शुक्रबार चीनको छेङ्दु सहरमा उनीहरूबीच वार्ता भएको हो। चिनियाँ विदेशमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा बिहीबार पुगेकी थिइन्।


उनीहरूबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको जनाइएको छ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिएकी छन्।

मन्त्री राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताइन्।

चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिइन्।  

नेपाल–चीनबीचका सबै परम्परागत सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्वाध बनेकाले यसलाई थप सहज एवं प्रभावकारी बनाउन दुवै पक्षबाट महत्वपूर्ण योगदान पुग्ने मन्त्री राणाले विश्वास गरिन्। 

वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझ्दारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदानप्रदानबारे पनि आवश्यक छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै छन्।   


Author

थप समाचार
x