कानागावा प्रदेशका गभर्नर र नेपाली सल्लाहकार जिज्ञान थापाबीच औपचारिक भेटवार्ता
काठमाडौँ- कानागावा प्रदेशका गभर्नर कुरोइवा युजीले कानागावा प्रदेशमा स्थानीय विकास तथा नीति तर्जुमा सम्बन्धी सल्लाहकारको रूपमा सेवा गरिरहेका जिज्ञान कुमार थापा सँग औपचारिक भेटवार्ता गरेका छन् । १० वर्षदेखि काम गरिरहेका उनले भेटका अवसरमा थापाको उल्लेखनीय योगदानको कदर गर्दै प्रशंसा समेत गरेका थिए ।
गभर्नर कुरोइवाले भने , “जिज्ञान थापाको विशेषज्ञताले क्षेत्रीय विकास मात्र नभई कानागावा प्रदेशको अन्तर्राष्ट्रियकरण प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको छ। जापानमा बसोबास गर्ने नेपाली समुदायको विस्तारसँगै नेपाली संस्कृतिको प्रवर्द्धन तथा नेपालको पहिचानलाई उच्च बनाउन उहाँले पुर्याउनु भएको योगदान अत्यन्त सराहनीय छ।”
त्यस्तै, गभर्नरले थापाको जापान प्रतिको गहिरो बुझाइ, व्यापक अनुभव तथा जापानी सरकारी संयन्त्रसँगको घनिष्ठ सम्बन्धले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गरे ।
सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा कानागावा प्रिफेक्चरले विशेष कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए ।
थापाले कानागावा प्रदेशको नीति तर्जुमा प्रक्रियाबाट सिकेका अनुभवहरू नेपालको विकासका लागि अपरिहार्य रहने उनको भनाइ छ । विभिन्न भूमिकामा रहेर जापानमा हासिल गरेको ज्ञान र अनुभवलाई नेपालको समृद्धिमा उपयोग गर्न निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।
साथै, सल्लाहकारको कार्यकाल समाप्त भएपश्चात पनि, नेपाल सरकार, नेपाली राजदूतावास तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने आफ्नो लक्ष्य रहेको बताउनु बताए । भेटवार्ताको क्रममा, थापाले हालै प्रकाशन गर्नुभएको पुस्तक "जापान: सपना, संघर्ष र सफलता" तथा त्यसको जापानी अनुवाद गरिएको डाइजेस्ट संस्करण गभर्नरलाई उपहारस्वरूप प्रदान गरेका छन् ।
उक्त भेटवार्ता कानागावा प्रिफेक्चरको गभर्नर कार्यालयमा सम्पन्न भएको थियो, जसमा नीति तर्जुमा महाशाखाका प्रमुख लगायत अन्य विशिष्ट श्रेणीका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
कानागावा प्रान्तिय सरकारको नियमअनुसार, सल्लाहकार पद को अधिकतम कार्यकाल १० वर्ष रहेकाले थापा आगामी मार्च ३१ बाट पदमुक्त हुने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया