परराष्ट्रमन्त्री राणा र ओडिशाका मुख्यमन्त्री माँझीबीच कुराकानी

काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीसँग फोनमा कुराकानी गरेकी छन् ।
मन्त्री राणाले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको बताएकी छन् ।
नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन ओडिसा सरकारले नै पहल गरिदिनका लागि आग्रह गरेको बताएकी छन् ।
यस विषयमा छानबिन गर्न कलेजको पनि समिति बनेको र त्यहाँ नेपाली राजदूतावास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिरहेकोले समन्वयका लागि मुख्यमन्त्री माझीसँग आग्रह गरेको उनले बताएकी छन् ।
उनले यस घटनालाई ओडीसा राज्यले नै गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम सुरु गरिएको जानकारी आफुलाई मुख्यमन्त्रीले गराएको उल्लेख गरेकी छन् ।
साथै उनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएको बताएकी छन् ।
यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका जानकारी गराएकी छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया