पहिचानविहीन रोहिग्यांको प्रश्न : विश्वमा हामी बस्ने देश छैन ?
काठमाडौँ- आकासमा उड्ने चरीले पनि आफ्ना निम्ति घर बनाउँछ । हामी त मानव हौँ, हामीलाई घर मात्रै होइन, मातृ भाषा चाहिन्छ । पहिचान चाहिन्छ । बालबच्चाका लागि खेल्ने साथी चाहिन्छ । तर सबैलाई त्यो भाग्य कहाँ मिल्छ र ? म्यान्मामारबाट सन् २०१२ मा नेपाल आएका रोहिंग्या शरणार्थी रफिक आलम खुइय सुस्केरा हाल्दै कल्पनाको म्यान्मारमा पुग्छन्, ‘त्यो घर । खेतबारी । आफन्तहरूसँगका जिन्दगी । अनि अहो ! चाडपर्वमा त्यो रमाइलो ।’ तर एकैछिनमा उनी नेपालको काठमाडौंस्थित कपन लसुननटारको पनि छाप्रो मुनि आइपुछन् । र, खिस्स हुन्छन् ।
भण्डै ४०० जना रोहिंग्याका लागि त्यही लसुनटारमा रहेका छाप्राहरूको ‘गुँड’ नै ससांर हो । त्यहाँभन्दा बाहिर त जान पाए पो ? फेरि कहिलेसम्म त्यहाँ बस्न पाउने हो ? उनीहरू आफैँ अनुत्तरित छन् । ‘अर्काको देश, अर्कोको भेष बिरानो हुन्छ भन्थे । नेपालका मान्छे त त्यस्ता रैनछन् । हिन्दी लवजमा नेपाली भाषामा बौल्दै रफिक सुनाउँछन्, ‘नेपाल सरकारले हामी रोहिंग्यालाई स्वीकारेको छैन, तर हामीले नेपालीपनलाई स्वीकारी सक्यौं ।’
बर्मामा अल्पसंख्यक मुस्लिम रोहिंग्याहरूमाथि दमन भएपछि नेपाल छिरेका हुन् । उनीहरू शरणार्थीका रूपमा प्रवेश गरेका हुन् र सुरक्षित बासस्थानको खोजीमा । फेरि नेपालको धर्म फरक । बस्ने शैली फरक । भेषभूषा फरक । भाषा फरक । तैपनि, परिस्थितिमा भिजेपछि आफू जन्मेको देश भन्दा नेपालै प्यारो लाग्न थालिसक्यो उनीहरूलाई ।
नेपालका साँघुरा गोरेटोमा टेक्न अब उनीहरूका खुट्टा काम्दैनन् । असार-साउनका रातदिनका झरीले जस्ताले छापेको घर भिजाएपनि मन भिजाउन सक्दैन । बालबालिकाहरू नेपाली भूमिको माटोमा अभ्यस्त भइसके । ‘म्यान्मारले हामीलाई बस्न दिएन’ रफिक फेहरिस्त भन्छन्, ‘हाम्रा परिवारलाई भगाई-भगाई मारे । बम बारुदले घरदेखि चौपाया एकै सेकेण्डमा उडाए । हामी भाग्यमानि भागेर नेपाल पस्यौं । हालसम्म जसोतसो पहिचानविहीन भएर बाँचेका छौँ ।’
रफिकजस्तै कपनको लसुनटारमा ३८६ जना रोहिंग्या गनेकै संख्यामा छन् । केही दिन यता फेरि बर्माबाट १२ जना जति नेपाल छिरेको गाइँगुईं हल्ला छ । उनीहरू शान्तिसँग बाँच्न ठगीको गिरोहमा पुग्छन् । बिचौलियाले चुपचाप नेपाल पसाइदिन्छन् । उनीहरू यतै घरबार बसाउन थाल्छन् । उनीहरूको व्यवस्थापनमा न गृह मन्त्रालयले सक्रियता देखाएको छ, न कुनै एनजिओ आइएनजिओहरूले । उनीहरू के खान्छन् ? कमाउँछन् कसरी ? बालबालिका, महिलाको अवस्था के छ ? सरकार आफैँ अनभिज्ञ छ, यी प्रश्नहरूमा । बरु उल्टै बेलाबेलामा रोहिंग्या बस्दा नेपाललाई अफ्ठ्यारो पर्ने समाचारहरू छापिन्छन् ।
उनीहरूको आक्रोश छ- ‘हामी पनि मानव हौँ । हामीलाई यहाँ राख्न सक्दैनौँ भने अन्य देश पठाइदिनू । नभए, व्यवस्थापन गरिदिनू ।’ नेपालमा बस्ने यी रोहिंग्याहरू मानव अधिकार खोजिरहेका छन् । पहिचान खोजिरहेका छन् । तीनै रोहिंग्याहरूको गाथा :
रोहिंग्याहरू म्यानमारका अल्पसंख्यक मुस्लिम समुदायका मानिस हुन् । तर, म्यान्मारले उनीहरूलाई आफ्नो नागरिक मान्दैन । विदेशी मान्छ । अझै उनीहरूकै भाषामा भन्नुपर्दा- ‘बौद्ध धर्मको बाहुल्यता रहेको म्यान्मारमा उनीहरूलाई जहाँ भेट्यो त्यही गोली हानिन्थ्यो । रातारात बस्तिमा आगो लगाइन्थ्यो । जर्बजस्ती अन्य धर्म मान्न लगाइन्थ्यो ।’ त्यसैले भागेर उनीहरू भारत, अमेरिका, मलेसिया, दुवई, बंगलादेशलगायतका देशमा पुगे । भारतमा आएकाहरूले झनै दुख खेप्नुपरेपछि नेपाल पसे र यतै घरजम गर्न थाले ।
सन् २०१२ देखि २०१७ सम्म धेरै रोहिंग्याहरू भारतहरू काठमाडौंको कपनमा छिरे । उनीहरू नौलो मानिससँग बोल्न डराउँछन् । दुई जना मानिस बाटोमा बसिराखेका छन् भने बोल्नुपर्छ भनेर परैबाट बाटो फेर्छन् । आफ्ना कुरा राख्न उनीहरूलाई मन लाग्दैन, त्यसैले उनीहरूको प्रतिनिधित्व रफिक आलम गर्छन् ।
दिन त सम्झना छैन । तर २०१२ को एक रात रफिक सम्झिछन्, ‘म्यानमारमा रोहिंग्या बसेको ठूलो बस्तीमा आगो लगाइयो । आगोमा जलेर मरेका मानिसलाई जेसीबी लगाएर त्यही पुरियो । मुसलमान तथा मुस्लिम केटाहरूलाई विनाकारण समातेर मारियो ।’
त्यसपछि त्यहाँ बस्न नसकेर रफिक सहित अन्य मुस्लिमहरू अनकौ हन्डर खाएर नेपाल आइपुगे । अझै पनि म्यानमारमा रोहिंग्याहरूलाई अनागरिकको व्यवहार गर्ने उनी बताउँछन् । ‘न हाम्रो देश छ । न कँहा बस्ने ठेगान । छौं त केवल हामी स्वयम् मानिस हुन् । तर, जुन देशले पनि हामीलाई हेप्छन् । हाम्रा नाममा पैसा उठाइन्छन्, हामीले पाउँदैनौं । रफिक दुःख पोख्छन्, ‘म्यानमारबाट भाग्दा तनमा जति कपडा छन्, त्यति लाएर हिँडेका । बालबच्चाले भोक मरे । बुढाबुढी हिंड्न नसकेर मरे ।’
नेपालमा बस्ने रोहिंग्या कसैको स-परिवार साथमा छैनन् । विधवा, बुढाबुढी, बालबच्चा पनि छन् । कोही बालबच्चाका आमाबुबाको म्यानमारमै मृत्यु भैसकेको छ । कसैका आमाबाबू अन्य देशमा छुटेका छन् । त कसैका आफन्त ‘कहाँ छन्’ अत्तोपत्तो छैन । ‘यहाँ कसैको परिवार पूर्ण छैन । रफिक भन्छन्, ‘मेरो आमाबुबा र दाजुभाईबहिनी सबै बंगलादेश छन् । म मात्रै नेपालमा छु ।’
नेपाल सरकारले शरणार्थी नमानेपनि संयुक्त राष्ट्रसंघिय उच्चआयुक्त कार्यालय (युएनएचसीआर)ले शरणार्थीको कार्ड दिएको छ उनीहरूलाई । रोहिग्यांले नेपालमा काम गर्न पाउँदैनन् । काम गरेको थाहा पाए पुलिसले केरकार गर्छ । काम नगरी कसरी खाने त ? प्रहरीले उनीहरूलाई दिने उत्तर सजिलो हुन्थ्यो, ‘युएनएचसीआरले पैसा दिईहाल्छ नि ।’
नाम खुलाउन नचाहने एक रोहिंग्या भन्छन्, ‘युएनएचसीआरले भाडा माँझ्ने, लुगा धुने सामान बाहेक अरु केही दिदैंन । उनीहरू हाम्रो लागि के गर्दैछन् थाहा छैन । कोभिडभन्दा अघि जसोतसो भारी बोक्ने, ग्यारेजको काम गर्थ्यौ । लकडाउनपछि त्यहीं काम पनि खोसीयो । कोभिडकालमा हामी एक छाक मात्रै खान्छौं ।’
२०१२ देखि २०१५ सम्म युएनएचसीआरले महिनामा प्रतिव्यक्ति पुरुषलाई पाँच हजार ७००, महिलाका लागि तीन हजार ७०० र बालबालिकाका लागि दुई हजार ७०० दिन्थे । त्यो पैसा आउँदैन । युएनएचसीआरलाई उनीहरूले बारम्बार बस्न, खान र स्वास्थ्यका लागि व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । ती रोहिंग्या भन्छन्, ‘सुनुवाइ भएको छैन । भन्दा भन्दा हामी थाकिसक्यौं ।’
उनीहरूले कपनको लसुनटारमा ३ रोपनी ३ आनाका जग्गा भाडामा लिएर टिन हालेको छाप्रो बनाएका छन् । महिनाको भाडा मात्रै झण्डै चार लाख तिर्नपर्छ । भाडा तिर्ने नसकेपछि त्यहाँबाट निस्केर गैहाल भनेको धेरैपटक सुनेका छन्, उनीहरूले । रफिक भन्छन्, ‘पुरुष त खाली रोडमै सुतौला । तर, महिला बालबालीकालाई कहाँ लाने ?’
बालबालिका खान रुन्छन् । चिच्याउँछन् । महिलाहरू अँध्यारो अनुहार लगाएर दिनभरि साँघुरो कोठाभित्र गुम्सिन्छन् । अबको एक महिनापछि घरका लागि गरेको सम्झौता पनि सकिंदै छ । हामी पुरुष रोहिंग्या अब कसको शरणमा जाने भनेर चिन्तित छौं ।’ उनी भावुक सुनिन्छन्, ‘हामीलाई मर्न पनि दिँदैनन्, बाँच्न पनि दिदैंनन् ।’ म्यान्मारबाट भागेका कयौं निर्दोष रोहिंग्या भारतका झेलमा छन् ।
नेपालमा त्यस्तो छैन, यहाँका मानिसले उनीहरूलाई आफ्नो समुदायमा बस्न दिएका छन् । बस् अब नेपाल सरकार पनि उनीहरूमाथि केही खुकुलो भइदियोस् । वा अन्य देशमा पठाइदियोस् भन्ने उनीहरूको चाहना हो । म्यानमारबाट भाग्दा रफिकको टाउकामा सिसा पसेको छ । रातभरि टाउको टनटन दुख्छ । कैयौ रात नसुतिकनै बिहान बनाएका छन् उनले । टाउकोमा गढेको सिसा निकाल्न १४ हजार ५५० लाग्छ भनेको छ डाक्टरले । स्वास्थ्यका लागि युनएचसिआरले सहयोग त गर्छ - तर, हजार रुपैंया मात्रै । उनी भन्छन्, ‘त्यही भएर म अस्पताल पनि जान्न । गएर के गर्नु उल्टै मन रुन्छ । पीडा कम हुँदैन ।’
000
रोहिंग्या समुदायमा महिलाहरू बाहिर निस्कन पाउँदैनन् । आफ्नो श्रीमान् र दाजुभाइबाहेकका परुपुरुषसँग बोल्न पाउँदैनन् । बोल्यो भने पाप लाग्छ भन्छन् । ‘सेनवारा बेगम’, नेपाली बोल्न जान्ने र रोहिंग्या महिलाको प्रतिनिधित्व गर्छिन् उनले । त्यहाँका महिलाहरूलाई परेका समस्याबारेमा राम्ररी दख्खल राख्छिन् उनी । उनले ‘वरिक’ भन्ने संस्थाबाट लैगिंक हिसां, बालविवाह, महिनावारी, पोषण लगायतका विषयबारे सिकेकी छिन् । त्यसैले त्यहाँका महिलालाई मनोपरामर्श दिन्छिन् ।
महिनावारी हुँदा महिलालाई स्यानीटरी न्यापकिनको आवश्यकता पर्छ । त्यो किन्न पैसा हुँदैन । उनी भन्छिन्, ‘मैले यहाँका ४५ महिलालाई कपडाको प्याड प्रयोग गर्न सिकाएको छुँ, त्यही अनुसार उनीहरू प्रयोग गर्छन् ।’ उनीहरूको समुदायमा दाइजो मागिँदैन । बालबच्चाहरू भने ७ देखि १० जनासम्म जन्माउने चलन छ । सेनवाराले आफ्ना समुदायका महिलालाई धेरै बच्चा जन्माउनुका बेफाइदा बताउँछिन् ।
त्यहाँका महिलालाई बालबालिका पढाउन ठूलो इच्छा छ । बालबालिकाहरू पनि पढेर डाक्टर इन्जिनियर बन्न चाहन्छन् । तीन बच्चाकी आमासमेत रहेकी सेनवारा भन्छिन्, ‘छोराछोरीलाई पढाउन लेखाउन मन छ । देशको सेवा गराउन मन छ ।’ तर, कुन देशको सेवा गराउनी उनैलाई थाहा छैन । किनभने उनले सुनेकी छिन्, ‘रोहिंग्याहरू नेपालमा बसेको यहाँको सरकारलाई मन परेको छैन रे ।’
उनीहरूको भोलि छैन । आजैमा जीवन बाँचिरहेका छन् । उनीहरूको मुस्कानमा खुसी हुँदैन । आँखामा सँधै यहाँबाट पनि लखेटिने होकी पिर झल्कन्छ ।
‘आमाबाबु हुँदाहुँदै पनि हामीले हाम्रा छोराछोरीलाई पहिचान दिन सकेका छैनौं । सेनवारा गुनासो पोख्छिन्, ‘देश खौज्दै हिड्दा नेपाल आइपुग्यौं । मलाई थाहा छ, यो मेरो देश होइन । अँ, साँच्चै हाम्रो त देश नै छैन ।’ अनि उनी अन्तिम दुई प्रश्न सोधेर वाक्य टुङ्ग्याउँछिन् ‘विश्वमा हामी रोहिग्यां बस्ने कुनै देश बनेको छैन हो ? मानिस भएर जन्मिनु हाम्रो गल्ती भयो हो ?’
कसरी भित्रिन्छन् रोहिंग्या ?
संसारमा सबैभन्दा बढी अत्याचार खेपिरहेको जाति हुन् रोहिंग्या । अर्थात् राज्यविहीन नागरिक । त्यसैले उनीहरू सुरक्षित बासस्थान, बालबालिकाको उज्यालो भविष्यका लागि विश्वका कयौं देशमा भौतारिरहन्छन् । जसको लागि उनीहरू एजेन्टलार्ई हजारौं नगद बुझाउन तयार पनि हुन्छन् । कपनको राममन्दिर बस्ने हुसेन हमिद २ वर्ष अघि बंगलादेशमा बस्दै आएका थिए ।
एजेन्टले त्यहाँभन्दा नेपालमा बढी सुख पाइने लोभ देखाएपछि ४० हजार रुपैयाँ बुझाएर चोर बाटो हुँदै कपन छिरे । हुसेन सुनाउँछन्, ‘सुखपछि दुख अनि दुखपछि सुख आउँछ भन्ने सोचेर नेपाल आएका थियौ झनै दुख पाइयो ।’ नेपाल, बंगलादेश तथा भारतमा रहेका बिचौलीयाहरूले रोहिंग्यालाई लोभमा पारेर मोटो रकम लिने र पछि अलपत्र पारेर छाडिदीने गरेको उनी बताउँछन् ।
सन् २०१२ देखि रोहिंग्या नेपाल प्रवेश गर्न थालेका हुन् । खुला सिमाना तथा कमजोर सुरक्षाका कारण पूर्वी नेपालको काकडभिट्टा र जोगबनी नाकाबाट रोहिंग्यालाई बिचौलीयाहरूले नेपाल पसाउने गरेका छन् । नेपालबाट अमेरिका , क्यानडालगायत सम्पन्न देश जान लोभ देखाउँदै बिचौलीयाले रोहिंग्या नेपाल भित्र्याउने गरेको सफिक जनाउँछन् ।
एक बंगलादेशी नागरिक हृदय तथा दुई रोहिंग्या मौलाना जुबेर र अर्का नुरुल अमीन मिलेर उनीहरूलाई नेपाल ओसार्ने गरेको उनको भनाई छ । उनीहरू केही महिनाअघि बौद्ध प्रहरी वृत्तमा हिरासतमा भएपनि हाल छुटिसकेका छन् । उनीहरूलाई मानव बेचबिखन ब्युरोले मुद्धा चलाईराखेको प्रहरीले बताएको छ ।प्रहरीका अनुसार, नेपालसम्म रोहिंग्या ल्याइपुर्याउन गिरोह नै सक्रिय छ । ती गीरोहलाई नाकाबाटै नियन्त्रणमा लिन सकेमात्रै रोहिंग्या नेपाल भित्रिनबाट रोक्न सकिने कपन प्रहरी बताउँछ ।
गृहमन्त्रालय भन्छ, ‘कडाइ हुँदैछ ’
केही साता अघि मात्रै १४ रोहिंग्या चोर बाटो हुँदै नेपाल आइपुगे । तर सुरक्षा निकायको वेवास्ता र नियमन गर्ने संयन्त्रको कमजोरीका कारण उनीहरू आइसकेको केही दिनपछि मात्रै प्रशासनले थाहा पायो । यसैको खण्डन गर्दै गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सबै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यलय नाकामा कडाइ गर्न निर्देशन दिएको बताउँछन् ।
‘परिचयपत्र नभएकालाई सीमाबाट छिर्न नदिन, रोहिंग्या तथा अन्य शरणार्थीलाई ल्याउने गिरोहमाथि निगरानी गर्न निर्देशन दिएका छौँ, उनले भने, ‘रोहिंग्यालाई शरणार्थीको पहिचान राज्यले दिएको छैन । नेपालमा अहिले उनीहरू जुन हालतमा बसेका छन्, त्यो हाम्रो नोटीसमा छ । ’
छिमेकी भन्छन्, ‘मिलेरै बसेका छौं’
‘त्यो छाप्रोबाट महिला निस्किदैनन् । बालबच्चा र पुरुष मात्रै हो । जन्मथलो कपन भएकी ७० वर्षे मैया क्षेत्री भन्छिन्, ‘उनीहरू इमान्दार छन् । अहिलेसम्म कोही छिमेकीसँग झगडा त परै जाओस् मुख सम्म लागेका छैनन् ।’
नेपाली बोल्न आउने रोहिंग्या मात्रै छिमेकीसँग बोल्ने गरेको उनले बताइन् । ‘रोहिंग्याको भाषा, धर्म बेग्लै भएपनि अनुशासित भएर बस्छन् । बालबालीकाहरू हाम्रै नातिनातिनीहरूसँग खेल्छन् ।’ उनी भन्छिन्, ‘अब त उनीहरू पनि ‘नमस्कार’ भन्दै हिँड्ने भैसके ।’
यस्तै, अर्को छिमेकी रविन अधिकारी पनि बालबच्चाहरूले चकचक गर्दिने भएपनि रोहिंग्याहरू व्यवस्थित भएरै बसेको जनाउँछन् । ‘बालबालीकाहरूले चाँही बेलाबेला दुख दिन्छन् नभए त्यस्तो समस्या छैन,’ उनी भन्छन् । तथापि, कपनमा रोहिंग्याको संख्या बढ्दै गैरहेको हुँदा भविष्यमा कलह हुन सक्ने उनको ठम्माइ छ ।
‘अहिले सानो संख्यामा हुँदा त केही फरक नपर्ला तर यसैगरी बढ्दै गएभने यहिी वरिपरी अपराधिक घटना घट्न सक्लान् । उनी भन्छन्, ‘उनीहरूको उचित व्यवस्थापनमा राज्यले ध्यान दिनैपर्छ ।’
यूएनएचसीआर नेपालकी प्रतिनिधिलाई चिठी
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसिआर) नेपालकी प्रतिनिधि क्यारोलिन स्पानुथ बर्मालाई रफिकले ‘खाना र मासिक भत्ता’ पाउँ भन्ने शीर्षकमा एक महिनाअघि इमेल लेखेका छन् । तर त्यसको उत्तर अझै आएको छैन । रफिक भन्छन्, ‘हाम्रो कमाइ छैन । काम पनि गर्न पाइँदैन । बालबच्चा भोकभोकै बस्न बाध्य छन् । युएनएचसिआरकी प्रतिनिधिलाई नै चिठी लेख्दा पनि उत्तर आउँदैन भने हामी कसरी बाँच्ने ? ’
उनले इमेलमा रोहिंग्याको आवाज बनिदीन आग्रह गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया