पूर्वराजदूतसँग परराष्ट्रमन्त्री
हामी माथि अन्तर्राष्ट्रिय चलखेल भइरहेको छ : परराष्ट्रमन्त्री खड्का
दूतावास सक्रिय पार्न महाशाखा बलियो बनाउनू : पूर्वराजदूत

काठमाडौँ - परराष्ट्रमन्त्री डा.नारायण खड्काले सबै दलको विचार फरक भए पनि एउटै परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । आफू गठबन्धन सरकारको परराष्ट्र मन्त्री रहेको तर सबैको समान धारणासहितको कूटनीति अवलम्बन गर्न आफू लागिपरेको उनी बताउँछन् । फरक विचार भएकाहरू एउटै जेटमा रहेको बताउँदै उनले भने, ‘राष्ट्र र राष्ट्रियताको सवालमा सबै एक हुनुपर्छ । यसमा अनेक प्रकारको फुँदा जोड्न आवश्यक छैन् ।’
पूर्वराजदूतहरूको समूह (आफ्ना)ले गरेको ब्रेकफास्ट अन्तरक्रियमा परराष्ट्र मन्त्री खड्काले नेपाललाई विकास गर्न मत विभाजन भएर समस्या हुने गरेको र त्यसका लागि सहकार्य गरे नेपाल विकासको गतिमा निकै अघि बढ्ने बताए । ।
परराष्ट्र नीतिलाई गृह नीतिको विस्तारित नीति भनेर पढिन्छ तर त्यो मात्र होइन भन्दै उनले भने, ‘बाह्य नीतिको प्रभाव पनि आन्तरिक नीतिमा परेको हुन्छ । हाम्रोमा त्यो भएको झै यहाँहरूलाई लाग्दैन ?’
परराष्ट्रमन्त्री खड्काको प्रतिप्रश्नको जवाफ पनि आफैँले दिँदै भने, ‘नेपालमा निकै उदाइसकेको र उदाउँदो विश्व शक्ति छिमेकको बीचमा रहेकाले यो क्षेत्रमा हुने अन्तर्राष्ट्रिय राजनीतिको जालोमा अलमलिएको छ ।’ यो क्षेत्र यतिबेला विश्व राजनीतिको नजरमा रहेको उल्लेख गर्दै भने, ‘हामी निकै सहज बन्न आवश्यक छ । त्यस्ता जाललाई चिर्न गठबन्धन मात्र होइन सर्वदलिय समान धारणा विकास हुनुपर्छ ।’
विश्वमा नै एसिया प्यासिफिक निकै चासोमा रहेको त्यसमा पनि दक्षिण र दक्षिण पूर्वी एसिया अहिले थप चासोमा रहेको भन्दै यसमा हामी सतर्क रहन आवश्यक रहेको बताए । नयाँ शक्ति उदय हुने या नहुने भन्ने प्रतिस्पर्धा चलिरहँदा नेपाल जस्तो मुलुक चनाखो हुनुपर्ने उनले बताए । त्यसका लागि सबैले आआफ्नो स्थानबाट राष्ट्रहितमा काम गर्नुपर्ने बताए ।
नेपालका लागि कूटनीतिक चुनौती आगामी दिनमा थप बढ्दै जाने निष्कर्ष पनि डा. खड्काको छ । घरेलु राजनीतिमा समन्वय भए यस्ता चुनौती चिर्न कुनै समस्या नहुने उनले बताए । ‘हाम्रो मुलुकको आकाशमाथि अन्तर्राष्ट्रिय चलखेल भइरहेको छ त्यसलाई चिर्ने राजनीतिक नेतृत्वले नै हो,’ उनले भने, ‘त्यस्तो विषयलाई चिर्न नसकेको खण्डमा हामी पछि पर्नेछौँ आउँदो पुस्ताले हामीलाई धिक्कार्नेछन् ।’
उनको धारणालाई सम्मान गर्दै आफ्ना अध्यक्ष एवं पूर्वराजदूत डा. शम्भुराम सिम्खडाले विद्वान्ले औँल्याइदिने र कार्यावन्यनमा लैजाने काम राजनीतिक नेतृत्वले गर्नुपर्ने बताए । ‘पूर्वराजदूतहरूको संगठन कुनै लाभको पद लिनभन्दा पनि बौद्धिक अन्तर्क्रिया गर्न स्थापना भएको हो,’ उनले भने, ‘हामी नीतिगत र समस्या समाधानमा सरकारलाई सहयोग गर्न तयार छौँ ।’ उनले भारतसँगको सम्बन्ध, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनलगायतको विषयमा पनि धारणा राख्दै निकै ध्यान दिएर अघि बढ्न सरकारलाई सुझाएका छन् ।
आफ्नाका उपाध्यक्षसमेत रहेका पूर्वराजदूत डा. चोपलाल भुषालले कूटनीतिलाई सक्रिय बनाउन परराष्ट्रको डेस्क बलियो बनाउनुपर्ने सुझाव दिएका छन् । उनले परराष्ट्र मन्त्रालयको महाशाखा कमजोर रहेको औल्याँउदै भने, ‘सीमित स्वार्थको लागि जोसँग जस्तो पनि सहकार्य गर्ने काम भएको छ । मुख्य सचिव पदमा पुग्न कर्मचारीको मनोवल घटाउने गरि निर्णय लिएका करिअर कूटनीतिज्ञ पनि रहेको विषय मनन गर्न भुल्न हुँदैन ।’
त्यसप्रकारको निर्णयले कर्मचारीमा पर्न गएको असहजता औल्याउन सक्नुपर्ने उनले बताए । 'हो राजनीतिक स्थिरता नहुँदा सम्म विकास सम्भव छैन तर राजनीतिक स्थिरताका नहुँदा स्थायी संयन्त्र झन चनाखो हुनुपर्नेमा आफ्नो स्वार्थमा पर्दा यस्तो अवस्था आएको हो,' उनले भने।
बंगलादेशको अनुभव सुनाउँदै उनले थपे, ‘कसले के भन्छ होइन राष्ट्र पहिलो भनेर काम गरेमा सबै विकास सम्भव छ । अब हामीले आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने बीपी कोइराला, शालीन राजा वीरेन्द्र खोजेर सम्झेर मात्र हुँदैन । भएका नेताहरूलाई सहि सल्लाह र सुझाव दिएर राम्रो काम गर्ने हो मुलुकको विकास गर्ने हो ।’
उनले सबै राजनीतिक दल राष्ट्र पहिलो भन्ने नीतिमा दृढ हुनुपर्ने पनि बताए । 'परराष्ट्र नीति कुनै दलको हुँदैन त्यो साझा नीतिको रुपमा ल्याउनुपर्छ । त्यसमा भएका त्रुटि परिमार्जीत गरेर अघि बढ्न आवश्यक छ ,' उनले भने । आफ्नाकी सचिव एवं पूर्वराजदूत लक्की शेर्पाले पनि राजदूत भनेको कुनै विचारधाराको आधारमा नभई क्षमताको आधारमा बनाउन पर्ने बताइन् । कुन मुलुकमा कुन विचार भन्दा पनि कुन मुलुकबारे कसले कति अध्ययन गरेको र कस्तो काम गर्नसक्छ त्यसतर्फ ध्यान दिनुपर्ने उनको राय छ ।
उनले मूल स्थान स्पष्ट भए दूतावास स्पष्ट हुने बताइन् । राजदूत पद भनेको राजनीतिक पद नै हो कर्मचारीबाट होस या बाहिरबाट भन्दै उनले भनिन्, ‘क्षमताको आधारमा राजदूत पठाउनुपर्छ ।’ आफ्ना समूह सरकारलाई यस्तै कूटनीतिक विषयमा स्पष्ट धारणा सुनाउन र सुझाउन बनेको बताउँदै उनले भनिन, ‘यो हाम्रो सुरुवात हो । सरकारको साथ र सहयोगकै बीचमा सरकारलाई स्पष्ट सुझाव दिने अब्बल थिंक ट्यांकको रुपमा यसलाई विकास गर्नेछौँ ।’
अन्य पूर्वराजदूतहरू डा. निरन्जन थापा, प्रा. डा. मोहन लोहनी, प्रा. रमेश कोइराला, डा. सूर्यप्रसाद श्रेष्ठ, प्रमेश हमाल, सेवा लम्साल, प्रकाशकुमार सुवेदी, लोकबहादुर थापा, भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, युवनाथ लम्साल, शर्मिला पराजुली ढकाल, भरतबहादुर रायमाझी, भिम उदास, आङफुटि शेर्पा, डा. नारद भारद्वाज, पूर्व प्रधानसेनापति गौरवशमशेर राणा लगायतकाको उपस्थिति थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया