कूटनीति

फेरि हावी भयो खुफिया एजेन्सी, पाखा लाग्दै कूटनीतिक संयन्त्र

विनोद देवकोटा |
कात्तिक ६, २०७७ बिहीबार १८:१८ बजे

काठमाडौं : भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख  सामन्तकुमार गोयल सुटुक्क नेपाल आएर फर्किए । करिब एक दर्जनको समूहमा आएका ‘रअ’ प्रमुख गोयलले नेपाल बसाइका क्रममा राजनीतिक भेटवार्ता गरे । बालुवाटारले मात्रै उनको भेट प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको जानकारी दिएको छ ।

प्रधानमन्त्रीसँगको भेटका क्रममा नेपाल—भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको बताइए पनि थप केही खुलाइएको छैन ।


त्यो बाहेक उनले को-को सँग भेटे यकिन छैन । नेताहरुले आफूले गोयललाई नभेटेको भनेर स्पष्टिकरण दिइरहेका छन् । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालले गोयलसँग भेटघाट नभएको स्पष्टिकरण दिएका छन् । यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफ्नो भेट गोयलसम्ग नभएको स्पष्टिकरण दिएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रअ प्रमुख गोयलसँग सभापति देउवाले नभेटेको बताए । तर, विभन्न स्रोतहरुले तीनै जना पूर्व प्रधानमन्त्रीहरुसँग गोयलको भेट भएको दाबी गर्छ ।

बुधबार उनी नेपाल आएकाबारे परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले समेत अनविज्ञता प्रकट गरेका थिए । तर उनीहरुको भ्रमणको सबै प्रक्रिया परराष्ट्र मन्त्रालयमार्फत नै मिलाइएको थियो । उनी आउनुको उद्देश्य र को–कोसँग भेटघाट गरे भन्ने रहस्यमै छ ।

गोयलको करिब २० घण्टाको काठमाडौं बसाइ र गोप्य भेटघाटबारे विभिन्न आशंका उब्जिएको छ । दुई मुलुकबीचको सम्बन्धमा तिक्तता आएका बेला उनको नेपाल भ्रमण र गोप्य भेटघाटले राम्रो संकेत नगर्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेता भीम रावलले रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई भेटेकोप्रति आपत्ति जनाएका छन् । रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको वार्ता कूटनीतिक मर्यादा विपरीत भएको समेत रावलको भनाइ छ ।

‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान विपरीत जसरी गोयलको प्रधानमन्त्रीसँग वार्ता भयो त्यो आपत्तिजनक छ’, रावलले भनेका छन्,‘यो सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत छ, कूटनीतिक मर्यादा विपरीत छ ।’

परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराईले गोयलको भ्रमणले कूटनीतिक संयन्त्र शिथिल भएको सन्देश दिएको बताए । कोभिड महामारीको समयमा पनि उनी सुटुक्क नेपाल आउनुले कूटनीतिक संयन्त्रलाई पाखा लगाइएको संकेत गर्ने उनको भनाइ छ ।

‘दुई मुलुकबीच लामो समयदेखि विवादका कारण संवादहिनता छ, यो बेला राजनीतिक सम्बन्ध सुधार हुनुपर्ने हो, राजनीतिक संवादको बाटो खाल्नुपर्ने हो तर त्यो संयन्त्रलाई पाखा लगाएर ‘इन्टेलिजेन्स’ हाबी भयो,’ उनले भने ।

त्यो बाहेक भारतले आफ्नो प्रभावलाई कायम राख्न पनि गोयललाई पठाएको हुनसक्ने उनले आशंका गरे । नेपाली राजनीतिमा भारतले आफ्नो भूमिका देखाउन पनि यो रणनीति अपनाएको हुनसक्ने उनको भनाइ छ । ‘कूटनीतिक रुपमा हुनुपर्ने भेटघाट इन्टेलिजेन्समार्फत् भएको देखियो’, उनले भने, ‘हाम्रा नेताहरूलाई इन्टेलिजेन्सले जित्यो, कूटनीति पाखा लगाइयो ।’

नेपाली कांग्रेसका नेता गगन थापाले कूटनीतिक मर्यादा भत्काएर ‘रअ’ प्रमुखको प्रधानमन्त्रीसँग भएको भेटवार्ता आपत्तिजनक भएको बताए । कूटनीतिक मर्यादा विपरित भएको भेटबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने थापाको भनाइ छ ।

‘यसबारे प्रधानमन्त्री कार्यालयले भेटवार्ता भएको पुष्टि गरेर मात्रै हुँदैन, प्रधानमन्त्री मौन बस्न पाइदैन, यसबारे प्रष्ट पार्नुपर्छ, भारतसँग उचस्तरिय वार्ताको खाचो भएका बेला रअ प्रमुखसँग प्रधानमन्त्रीले भेट्नुपर्ने कारण के हो खुलाउनु पर्छ,’ उनले भने ।

त्यस्तै साझा पार्टीले पनि रअ प्रमुखसँगको भेटबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरेको छ । अन्यथा खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनु भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्ने साझाको ठहर छ ।

प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण भएको् साझाले जनाएको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै साझाले भनेको छ, ‘के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन्? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन्? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस् होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन?’

परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ नदिएको भारतका खुफिया एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई बनाइदिएको साझा पार्टीको धारणा छ ।

 

  


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x