कूटनीति

शर्मा भारतका लागि राजदूत नियुक्त

इकागज |
चैत ६, २०७८ आइतबार १८:३५ बजे

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शंकर शर्मालाई मित्रराष्ट्र भारतका लागि आवासीय राजदूत नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले शर्मालाई राजदूत नियुक्त गरेकी हुन् । 

मन्त्रिपरिषद्ले डा. शर्मालाई कात्तिक ११ मा भारतका लागि राजदूत सिफारिश गरेको थियो । संसदीय सुनुवाईको प्रक्रिया सकिएपछि परराष्ट्रले भारत सरकारसँग ‘एग्रिमा’ (स्वीकृति) का लागि पठाएको थियो । 


भारत सरकारले शर्माको तीन महिनापछि पठाएको हो । कोभिड–१९ र रुस–युक्रेन युद्धका कारण ‘एग्रिमा’ आउन केही ढिलाई भएको बुझिएको छ । 

डा. शर्माले युनिभर्सिटी अफ हवाई, अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका हुन् । शर्माले सिंगापुरमा रहेर इन्स्टिच्यूट अफ साउथ इस्ट एसियन स्टडिज् नामक थिंकट्यांकमा काम गरेका थिए ।  

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा एक कुशल अर्थशास्त्रीका रुपमा सार्वजनिक क्षेत्रमा रहेर आर्थिक नीति निर्माणमा लामो समय काम गरेका शर्माले अमेरिकाका लागि नेपालको राजदूत भएर आफ्नो कूटनीतिक क्षमता प्रदर्शित गरिसकेका छन् । 


 


Author

थप समाचार
x