नेपालमा हुने भूराजनीतिक खेल चीनलाई सह्य छैन: वाङ
काठमाडौँ– नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर वाङ यीले नेपालमा हुने भूराजनीतिक खेल चीनलाई सह्य नहुने बताएका छन् । उनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता,आत्मनिर्णय तथा आन्तरिक मामिलामा दखल दिएर भूराजनीतिक खेलमा बाह्य शक्तिको संलग्नताको चीनले सख्त विरोध गर्ने उनको भनाइ थियो ।
शुक्रबार नेपाल आएका वाङले समकक्षी नेपाली परराष्ट्रमन्त्री नारायण खड्कासँगको शनिबारको भेटघाटमा सो कुरा बताएका हुन् । दुई देशको अन्तर्राष्ट्रिय वा आन्तरिक परिस्थितिमा परिवर्तन भएपनि चीन नेपालमा चीन–नेपाल मैत्री समुदायको प्रवर्धन तथा दुई देशका नेताले कोरेको साझा भविष्य र मार्गदर्शनलाई अघि बढाउन सधैं तत्पर भएको उनको भनाइ थियो ।
‘चीनले नेपाललाई यसको विकास प्रयासमा सधैं सहयोग गर्न तयार छ । सबै दलहरूलाई नेपालको दीर्घकालीन चासो र नेपाली जनताको हितका पक्षमा काम गर्न चीन प्रोत्साहन गर्दछ,’ वाङको भनाइ उद्धृत गर्दै चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले भनेको छ, ‘चीन नेपालको स्वाधीन आन्तरिक तथा विदेश नीतिलाई समर्थन गर्दछ । साथै, चीन कुनै आकार वा शक्तिका आधारमा नभएर सबै देशको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डताको सम्मान गर्दछ ।’
वाङले सबै दलहरूलाई नेपालको लागि राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकाका लागि उपयुक्त शासन व्यवस्थाको खोजी गर्न पनि सुझाव दिएको बताइएको छ ।
वाङले नेपाल चीन र दक्षिण एसियाली राष्ट्रहरूबीचको सम्बन्धको सेतु बन्नुपर्नेमा जोड दिदैं वाङले नेपालले अन्य देशहरूसँग पनि पारस्पारिक सह–अस्तित्व र मैत्रीपूर्ण सम्बन्ध विकास गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा भूमिका बढाउनुपर्ने बताए ।
उनले नेपालमा चीनको सहयोग बेल्ट एन्ड रोडमा सहभागिता अझै प्रभावकारी बढाउने र संयुक्त विकास परियोजनाहरू सञ्चालन गर्ने बताए । नेपाल र चीनबीच सुख्खा बन्दरगाह सञ्चालन, अन्तरदेशीय विद्युत व्यापार, जनस्तरमा घनीभूत सम्बन्ध विकासका द्विपक्षीय भ्रमणका अवसरहरू, हिमालय सीमाबार बहुआयमिक सम्पर्क सञ्जाल विकासमा जोड दिए ।
नेपालले यसको जनशक्ति, भौगोलिक अवस्थिति, राष्ट्रिय पारिस्थितिक प्रणालीबाट साथै चीनको विकासले ल्याएका अवसरबाट उपलब्ध हुनसक्ने लाभ लिएर द्रुत विकास र आर्थिक पुनर्बहाली गर्न वाङले सुझाए । भेटका क्रममा परराष्ट्रमन्त्री खड्काले बाह्य हस्तक्षेपबाट मुलुकको सार्वभौमसत्ता र स्वाधीनता जोगाउन गरेका प्रयासबारे बताउँदै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको र चीनको चासोको रक्षा गर्न अडिग रहेको आश्वस्त पारेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया