कूटनीति

अमेरिकी उच्च-स्तरीय संसदीय टोली नेपाल आउँदै

इकागज |
बैशाख ९, २०७९ शुक्रबार १६:५८ बजे

काठमाडौँ –  संयुक्त राज्य अमेरिकाको उच्च-स्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउन लागेको छ । युक्रेन मामिलाबारे छलफल गर्न अमेरिकी संसदीय टोली नेपाल आउन लागेको हो ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठको अवसर समेत पारेर आउन लागेको यस टोलीमा सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वमा रहेको टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) सामेल छन् । 


अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्नेछ । उहाँहरूको समूह हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावमाथि समेत केन्द्रित रहेको बताइएको छ । यस गम्भीर सङ्कटका बारेमा थप बुझ्नका लागि उहाँहरूले  शनिबार दिउँसो एक पदयात्रामा समेत भाग लिनेछन् ।

उनीहरू छिमेकी भारत र युक्रेनसँग सीमा जोडिएको पोल्याण्डको समेत भ्रमण गरेर नेपाल आउन लागेको अमेरिकी दूतावासले जनाएको छ । रुसको नाजायज र अन्यायपूर्ण युद्धका विरुद्ध अमेरिकाले युक्रेन र नेटो गठबन्धनप्रतिको आफ्नो सहयोगलाई कसरी जारी राख्न सक्छ भन्नेबारे बुझ्नका लागि संसदीय टोलीले पोल्याण्डको यात्रा गरेको बताइएको छ ।  

 युक्रेनमा रुसले गरेको आक्रमणप्रति नेपाल असहमत रहँदै आएको छ ।

 


Author

थप समाचार
x