मोदीले लुम्बिनीमा यसरी बिताउँछन् ६ घण्टा
फाइल तस्बिर
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मोदी भारतबाट सिधै लुम्बिनी आई त्यहींबाट स्वदेश फर्कने छन् ।
तय भएको कार्यक्रम अनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा विहान करिब ११ बजे लुम्बिनी आउने छन् ।
त्यसपछि उनको मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् ।
मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पुजा र शिलान्यासको काम सकेपछि उनले पवन इन्टरनेसनल होटलमा राजनीतिक भेटवघाट गर्ने जनाइएको छ ।
होटलमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । मध्यान्ह १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै नेपाल-भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक हुनेछ ।
बैठक सकिएपछि प्रधानमन्त्री देउवाले भारतीय समकक्षि मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।
उनी बेलुकी ५ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनीबाट स्वदेश फर्कने कार्यक्रम छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया