गाउँमै निःशुल्क अल्ट्रासाउण्ड भएपछि घण्टौं हिड्नुपर्ने बाध्यता हट्यो
अर्घाखाँची - मालारानी गाउँपालिका–५ बागीको स्वास्थ्यचौकीमा निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरिएको छ । गाउँमै अल्ट्रासाउण्ड सेवा पाएपछि बागीका महिला खुसी भएका छन् ।
गर्भवतीलाई अल्ट्रासाउण्ड गर्न घण्टौँ हिँडेर सदरमुकाम सन्धिखर्क जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्यचौकीमै अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको मालारानी–५ बागीका वडाध्यक्ष तिलक मिश्रले बताए । गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रासाउण्ड अनिवार्य गर्नुपर्ने हुन्छ ।
गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवाले स्थानीय महिला लाभान्वित हुने वडाध्यक्ष मिश्रले बताए । उनले घण्टौँ हिँडेर अल्ट्रासाउण्ड गर्न सदरमुकाम सन्धिखर्क आउनुपर्ने समस्याको समाधान गरी गाउँमै स्वास्थ्य सेवा दिन अल्ट्रासाउण्ड सेवा सुरु गरिएको बताए । उनले भने, “यी र यस्तै कार्यक्रमका साथ बागीलाई जिरो होम डेलिभरी वडा बनाउने अभियानमा लागेका छौँ ।”
उनले आफूले चुनावमा घोषणा गरेअनुसार मालारानी–५ बागीका जनतालाई स्वास्थ्य सेवा घरदैलोमै पुर्याउने प्रयास भइरहेको बताए । यस्तै उनले गर्भवती आमा तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी भइरहेको समेत जानकारी दिए ।
वडाध्यक्ष मिश्रले बागी तथा मालारानीको स्वास्थ्य सेवाको विकास र विस्तारमा लागिरहेको बताए । प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य कार्यालय, स्वास्थ्यचौकी बागी र गाउँपालिकाको सहकार्यमा ग्रामीण अल्ट्रासाउन्ड सेवा विस्तार भएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया